काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार परिसरबाट लिन सकिने छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेकाे हाे ।
सिंहदरबार परिसरस्थित नेपाली सेनाको नर्सिङ दल गण रहेको स्थानमा निर्माण गरिएको ‘प्रिफ्याब’ भवनबाट स्वास्थ्य मन्त्रालयको सेवा प्राप्त गर्न सकिने छ । विश्वस्वास्थ्य ससंगठनले करिब १० करोड रुपैयाँ खर्च गरेर बनाएका छ वटा ‘प्रिफ्याब’ भवनमा अस्थायी रूपमा तत्कालका लागि मन्त्रालय सारिएको छ । स्वास्थ्य मन्त्रालय सरेसँगै नेपाल सरकारका सबै केन्द्रिय मन्त्रालय सिंहदरबार परिसरभित्र रहने छन् ।
आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमलाई विश्वस्वास्थ्य ससंगठनका दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा कथेरिन बोहेमले ती भवनका संरचना हस्तान्तरण गरेका छन् । यसअघि त्यहाँ रहेको सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि खाली जग्गामा प्रिफ्याब बनाइएको हो । विसं २०३० मा सिंहदरबार आगलागी भएपछि टेकु हुँदै रामशाहपथ सरेको मन्त्रालय जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि पुनः सिहदरबारभित्र सरेको छ ।
यसअघि गत भदौ २४ गते भवन पूर्ण रूपमा क्षति भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । भवन हस्तान्तण कार्यक्रममा मन्त्री गौतमले जनस्वास्थ्य क्षेत्रका अतिरिक्त बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का घटनापछि मानवीय उपचार र उद्धारमा विश्व स्वास्थ्य संगठनबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताए । उनले आन्दोलनमा आगजनीमा परी क्षति भएपछि मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न कठिनाई भइरहेका बेला छोटो समयमै भवन निर्माण गरी नयाँ कार्यालयमा बस्ने वातावरण तुल्याइदिएकामा विश्व स्वास्थ्य संगठनप्रति आभार व्यक्त गरे ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले नेपालको स्वास्थ्य क्षेत्रको विकास, विस्तार र गुणस्तरीय सेवा प्रदान गर्ने सिलसिलामा निरन्तर सहयोग पुर्याएकामा सरकारकातर्फबाट डब्लुएचओलाई धन्यवाद ज्ञापन गरे । डब्लुएचओका क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा बोहेमले हालैका वर्षमा नेपालले भूकम्प, बाढी, पहिरो, राजनीतिक अशान्ति र अन्य अवरोधका श्रृङ्खलाको सामना गरिरहेको स्मरण गर्दै नवनिर्मित भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए।
उनले भने, 'यस्ता भवन भौतिक संरचना मात्र होइनन्, सहयोग, मित्रता र साझेदारीको प्रतीक हो । यस्ता भवनले समस्या परेको समयमा पनि महत्त्वपूर्ण कार्यमा सहज तुल्याउँछन् ।' विगतका घटनाले स्वास्थ्य प्रणाली कुनै पनि समयमा अवरोध हुन सक्ने विषयसँगै तयारीका लागि सजग गराएको बताउँदै कथेरिनले भने, 'तयारी आकाङ्क्षा होइन, आवश्यकता हो । साधारण र सजिलो पूर्वाधार आपत्कालीन प्रतिक्रियाको मेरुदण्ड हो । नवनिर्मित भवनले संकटका बेलामा तयारीको आवश्यकतालाई चित्रण गर्छ ।'
विसं २०१५ को भूकम्पपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र मन्त्रालयले हजारौँ नागरिकको तत्कालिन स्वास्थ्य सेवा सुनिश्चित गर्दै स्वास्थ्य शिविर र औषधि उपलब्ध गराउन समन्वयमा काम गरेको स्मरण गर्दै डा बोहेमले सहकार्यका साथ स्वास्थ्य आपत्कालीन तयारी र स्वास्थ्य संस्थाको क्षमतालाई बलियो बनाउन ससंगठनले सहयोग गर्ने विश्वास दिलाए । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सिंहदरबारभित्र नयाँ संसद् भवन बनेपछि हाल संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाको रूपमा प्राप्त गर्ने सन्दर्भमा छलफल भइरहेको बताए ।
उहाँले नेपाल सरकारका सबै मन्त्रालय सिंहदरबारभित्र रहेका र स्वास्थ्य मन्त्रालय मात्रै बाहिर रहँदा सहकार्य र समन्वयमा केही अप्ठेरो हुँदै आएकामा अब त्यो अन्त्य हुने विश्वास व्यक्त गरे । गत भदौ २४ को घटनाले मन्त्रालयको सुरक्षासमेत एउटा कारण बनेको बताउँदै प्रवक्ता बुढाथोकीले सिंहदरबारभित्र सारिँदा अरु मन्त्रालयसँग सहकार्य र सुरक्षा पनि हुने भन्ने सोचेर नयाँ संरचनाका लागि प्रधानमन्त्री कार्यालयसँग छलफल गरी पैरवीका आधारमा नयाँ संरचनामा सर्ने अवसर प्राप्त भएको बताए।
विश्वस्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश एस पाण्डभले नवनिर्मित भवन नेपाल सरकार र विश्वस्वास्थ्य ससंगठनबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्ने धारणा राखे । उनले स्वास्थ्य क्षेत्रमा स्पष्ट प्राथमिकतासहित तयार गरिएको योजनाले नेपाललाई अझ बढी उत्थानशिल हुन र स्रोत परिचालनमा ठोस आधार प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य जोखिमको समयमै पहिचान, मूल्यांकन र प्रतिकार्य गर्न नेपालको क्षमता सुढृढ तुल्याउन ससंगठनले सहयोग गर्ने विश्वास दिलाए ।
मन्त्रालयले आफ्ना सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न गृहकार्य गरिरहेको जनाउँदै मन्त्रालयका लागि स्थायी संरचना प्राप्त भएमा ‘प्रिफ्याब’ भवन खोलेर अन्यत्र प्रयोग गर्न सकिने जनाएको छ ।