काठमाडाैं - शेयरबजार परिसूचक नेप्सेमा सोमबार पनि गिरावट आएको छ । अघिल्लो दिन ३० अंकभन्दा बढीले घटेको नेप्से सूचक आज ५.८० अंकले घट्दै २ हजार ५६०.२९ अंकमा कायम भएकाे हो ।
त्यसो त आज कारोबार रकममा समेत केही कमी आउँदै ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँबराबरको शेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन ३० अंकमाथिले सूचक घट्दा ४ अर्ब ५६ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज तीनवटा कम्पनी दरमखोला हाइड्रोपावर, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर मूल्य समान १० प्रतिशतले बढेका छन् भने उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र ट्रेडिङ समूहको उपसूचक सामान्य बढेपनि बाँकी १० वटा उपसूचकहरू भने ऋणात्मक भएका छन् । आज ९१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको र बाँकी ११ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।