म्याग्दी- यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान थालिएको छ ।
नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका छन् ।“एक वर्षअघि गरेको अध्ययनका क्रममा दर र मुदीमा चिरकालिज भेटिएपछि संरक्षणका लागि विद्यालय र समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, “दुर्लभ पन्छी भएकाले चिरकालिजको महत्व जानकारी गराएर सङ्ख्या वृद्धि र संरक्षणको पहल थालिएको हो ।”
मुदीको वुत्तिविकास र मुनाको धवलागिरि माविका विद्यार्थीलाई चिरकालिजका बारेमा अभिमुखीकरणका साथै हाजिरी जवाफ प्रतियोगिता भएको छ । रानीखोला र दरखोला सामुदायिक वन उपभोक्ता समूहका पदाधीकारी, सदस्य र स्थानीयवासीलाई दरमा संरक्षण शिक्षासम्बन्धी प्रशिक्षण दिइएको छ ।
जैविक विविधता संरक्षण समाजका अध्यक्ष लक्ष्मण पौडेल, पन्छीविद् सङ्घका केशव चोखाल र रजकले चिरकालिजको परिचय, महत्व र संरक्षणको आवश्यकताका विषयमा जानकारी गराएका थिए । “चोरीसिकारी, अनियन्त्रित डढेलो र जलवायु परिर्वतको बढ्दो प्रभाव चिरकालिज संरक्षणको चुनौती हो”, अध्यता चोखालले भने, “चोरीसिकारीका अलावा, गुँडबाट अण्डा टिप्ने, पासो थाप्ने, चल्ला छोपेर घरमा ल्याएर पाल्न खोज्ने, चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समयमा हुने अनियन्त्रित डढेलोका कारण चिरकालिज लोप हुने अवस्थामा छ ।”
सङ्घले पछिल्लो पाँच वर्षयता दातृ निकाय ‘टुलेडोज’ुको सहयोगमा धवलागिरि गाउँपालिकाका साथै मुस्ताङको घाँसा क्षेत्रको कालीगण्डकी बेसिनमा चिरकालिजको सङ्ख्या पहिचानका लागि अध्ययन र संरक्षणको कार्यक्रम गर्दै आएको जनाएको छ । कालीगण्डकी बेसिनमा हालै भएको अध्ययनका क्रममा १८ जोडी चिरकालिज भेटिएका थिए । दुर्लभ पन्छीको संरक्षण गरेमा जैविक विविधता, पर्यावरणका हिसाबले योगदान पुग्नुका साथै पर्यटक भित्र्याएर आयआर्जन र ग्रामीण अर्थतन्त्र सुधारमा सहयोग पुग्ने जैविक विविधता संरक्षण समाजका अध्यक्ष पौडेलले बताए।
समुद्री सतहदेखि एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता हुन्छ । वैशाख, जेठ र असार चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो । चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।
भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्छ । अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम चिरकालिजको बासस्थान हो । नेपाल पन्छीविद् सङ्घले गरेको पछिल्लो अध्ययनअनुसार नेपालमा चिरकालिजको सङ्ख्या एक हजारभन्दा कम रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख पन्छीका रूपमा सूचीकृत गरेको छ ।