कञ्चनपुर– प्राकृतिक उपचार पद्धति प्रभावकारी हुन थालेपछि महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा बिरामीको आकर्षण बढेको छ । आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै गएपछि बिरामीको आकर्षण भएकाे हाे ।
आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै गएपछि आयुर्वेद उपचारमा विश्वास राखेर उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको महाकाली आयुर्वेद औषधालयका सूचना अधिकारी दीर्घबहादुर रावलले जानकारी दिए । उनले ग्यास्ट्रिक, बाथरोग, सुगर, प्रेसरलगायतका बिरामी उपचारका लागि आउने गरेको बताए ।'पछिल्लो समय अस्पतालमा सुगर, प्रेसर, ग्यास्ट्रिक र पञ्चकर्म सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ', उनले भने, 'अन्य ठाउँमा उपचार गराएर ठीक नभएका बिरामीहरु पनि यहाँ उपचारका लागि आउने गरेका छन् ।' उनले अस्पतालमा दैनिक ५० देखि ६० जना बिरामीहरु उपचारका लागि आउने गरेको बताए।
अस्पतालले बिरामीलाई आवश्यकताअनुसार निःशुल्क रूपमा औषधि उपलब्ध गराउँदै आएको छ । आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको चाप बढे पनि पूर्वाधार अभावले सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ । हाल अस्पतालले २०५२ सालमा निर्माण भएको जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको छ । 'बिरामीको चाप धेरै छ भौतिक संरचना नहुँदा समस्या भएको छ', उनले भने,'यस पटक भवन निर्माणका लागि प्रदेश सरकारबाट रु साढे चार करोड बजेट आएको छ ।' अस्पतालमा पूर्वकर्म र पञ्चकर्म सेवा लिने बिरामी धेरै आउने गरेको सूचना अधिकारी रावलले जानकारी दिए ।
औषधालयले दिने सेवा राम्रो भए पनि साँघुरो कोठामा उपचार गर्न जाँदा निकै सकस हुने गरेको सेवाग्राहीको गुनासो छ । 'मैले पञ्चकर्म सेवा लिएपछि स्वास्थ्यमा सुधार भएको छ यहाँको सेवा राम्रो छ', स्थानीय गणेश भट्टले भने,'अस्पतालको भवन जीर्ण छ उपचारका लागि साँघुरो कोठामा पर्दा लगाएर उपचार हुन्छ यसले असहज भएको छ ।' उनले अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण भए यहाँका बिरामीलाई उपचारमा सुविधा हुने बताए ।
आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढे पनि सरकारको प्राथमिकतामा नपर्दा भौतिक संरचना निर्माण हुन नसकेको स्थानीय बताउँछन् ।'स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सरकारले वेवास्ता गर्नुहुँदैन सरकारले आयुर्वेदिक औषधालयमा भौतिक संरचना र जनशक्ति थप्नुपर्छ ।' यहाँका स्थानीय विष्णु दत्त पन्तले भने,'आयुर्वेदिक उपचारमा अन्य औषधीभन्दा‘साइड इफेक्ट’ पनि कम हुन्छ ।'
औषधालयबाट ओपीडीमा स्वास्थ्य परीक्षण गरी निःशुःल्क रुपमा औषधि दिने गरिएको छ । अस्पतालका अनुसार चालु आर्थिक वर्षको हालसम्म अस्पतालबाट १३ हजार ६३३ जनाले उपचार सेवा लिएका छन् । गत आर्थिक वर्षमा अस्पतालमा २६ हजार बिरामीले सेवा लिएका थिए ।