- संगठित अपराध र भन्सार ऐनअन्तर्गतका कसुरमा मुद्दा
- तीन वर्षअघि विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी भएको प्रकरणमा संलग्न रहेको आरोप
- भन्सार ऐन ०६४ र संगठित अपराध निवारण ऐन ०७० प्रतिकूल काम गरेको कसुर
- महराविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार अख्तियारको अनुसन्धान पनि जारी
- आरोपित महराको आज बयान र थुनछेक बहस हुने
काठमाडौं– सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध सोमबार संगठित अपराध र भन्सार ऐनअन्तर्गतका कसुरमा मुद्दा दर्ता भएको हो ।
यी दुई मुद्दामा आठ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी भएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार तीन वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी पनि गरिएको छ । श्रेष्ठले प्रभावसँग भने, ‘मंगलबार उहाँको बयान हुने छ र त्यसपछि थुनछेक बहस हुने छ र संगठित अपराध र भन्सार ऐन कसुरमा मुद्दा दर्ता भएको छ ।’
पहिलो संविधानसभामा सांसद खरिद बिक्री गर्न चिनियाँसँग पैसा मागेको र सभामुख छँदै संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको आरोप लागेका विवादित बनेका उनी पछिल्लोपटक सुन तस्करी प्रकरणमा मुछिएका थिए । यसअघि राजनीतिक संरक्षण पाएका उनलाई आइतबार पक्राउ गरिएको हो ।
महराले भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), उपदफा (२) र उपदफा (३) को खण्ड (क) बमोजिमको कसुर गरेकोमा बिगो आठ करोड ५५ लाख २८ हजार रुपैयाँ र सोही ऐनको दफा ५७ को उपदफा (१घ) को खण्ड (ख) बमोजिम सजाय हुनुपर्ने भनिएको छ । ती कसुर संगठितरूपमा समूह बनाई तहगत जिम्मेवारीअनुसारको कार्य गरी संगठित ढंगले कसुर गरेकोमा महरालाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को खण्ड (क) बमोजिम थप सजाय हुन मागदाबी गरिएको श्रेष्ठले बताए ।
तीन वर्षअघि विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी भएको प्रकरणमा महरा मुछिएका छन् । उनी यही प्रकरणमा दोस्रोपटक पक्राउ परिसकेका छन् । तर, यसअघि भने उनले प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति पाए । आइतबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खुमलटारबाट पक्राउ गरेको थियो ।
सिआइबीले पूर्वसभामुख महराविरुद्ध भन्सार ऐन ०६४ र संगठित अपराध निवारण ऐन ०७० प्रतिकूल काम गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ । राज्यका उच्च ओहदामा रहेर काम गरिसकेका महराविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार पनि अनुसन्धान गरिरहेको छ ।
भन्सार ऐन, ०६४ अन्तर्गत सरकारद्वारा जारी आदेशअनुसार ‘झिटीगुण्टा’ शीर्षकमा महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम तथा भन्सार शुल्क तिरेर २०० ग्रामसम्म तयारी सुन ल्याउन पाइन्छ । यसबाहेक हुने सुन कारोबारलाई दण्डनीय मानिएको छ । महराले झण्डै नौ किलो चिनियाँ तस्करको सुन भन्सारबाट छुटाउन चलखेल गरेको आरोप छ । त्यसक्रममा २५६ पटक फोन सम्पर्क बिचौलियासँग भएको प्रहरी अनुसन्धानबाट देखिएको छ । चिनियाँ सुन तस्कर दावाजिन वाङसँग महराले ११ पटक फोन सम्पर्क गरेको देखिएको प्रहरीको भनाइ छ । महराले दावाजिनसँगको सम्बन्ध पुरानो रहेको बताइसकेका छन् ।
सुन तस्करी भएको १० पुस २०७९ मा हो । त्यसदिन ७३ बट्टामा ७३० वटा भेपमा लुकाएर चिनियाँ तस्करले दुबईहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन ओसारेका थिए । करिब नौ किलो सुनको त्यसबेलाको बजार मूल्यअनुसार साढे आठ करोड रुपैयाँ थियो । फ्लाइ दुबईको उडान नम्बर एफजेड ०५८७ बाट चिनियाँ राहदानी इजे ६३५००३० बाहक ली हसङले दुईवटा सुटकेसभित्र लुकाएर ७३ वटा बट्टामा सुन राखिएका भेपसहित काठमाडौं आएका थिए ।
काठमाडौं ओर्लिएलगत्तै भेपका रूपमा जाँचपास गराएर चिनियाँ गिरोहका नाइके दावाजिन वाङलाई हस्तान्तरण गर्ने तरखरमा थिए, ली । तर, सामान शंकास्पद देखिएपछि त्यही दिन विमानस्थल भन्सार कार्यालयले सामान नियन्त्रणमा लियो । त्यसको केही दिनमै हसङ फरार भए । सुनका मालिक दावाजिनले पूर्वसभामुख महरा र उनका छोरा राहुलबाट भन्सारमा रोकिएका सामान छुटाउन सक्रियता बढाए । त्यसपछि महराका बाबुछोरा दावाजिनको योजनाअनुसार सुन भएका भेप छुटाउन सक्रिय भए । त्यसक्रममा महरा बाबुछोराले भन्सारका कर्मचारीसहित विभिन्न व्यक्ति र चिनियाँ तस्करसमेतलाई विभिन्न समयमा २५० भन्दा बढी पटक फोन गरेका थिए ।
उसो त भन्सारले भेप नियन्त्रणमा लिएपछि तीन दिनपछि १३ पुसमा महराका बाबुछोराले पालैपालो भन्सारका कर्मचारीलाई फोन गरेर छुटाउन दबाब दिए । तर, विमानस्थल भन्सारका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेलले मानेनन् । त्यसबेलासम्म भेपमा सुन राखिएको विषय सार्वजनिक भएको थिएन । भेप गोदाममा सिल गरेर राखिएको थियो । पछि भन्सारकै कर्मचारी र बिचौलियासहितको सेटिङमा गोदाममा राखिएका ती भेप चोरी भए । त्यसको ठाउँमा अरु नै भेप राखियो । सुन भएका भेप निकालेर गिरोहले बिक्री गरेको रहस्य खुलेको थियो । त्यसपछि भेपमा सुन तस्करी गरेको र विमानस्थल भन्सार कार्यालयले रोक्दा छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय भएको देखिएको थियो ।
यही प्रकरणपछि महरा ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ परेका थिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पनि भेप प्रकरणमा महराको भूमिका सन्दिग्ध रहेको र तथ्य–प्रमाणले उनलाई कसुरदार होइनन् भन्न नसकिने भन्दै पुनः अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । तर, राजनीतिक शक्ति केन्द्रसँगको निकट सम्बन्धका कारण उनले पटक–पटक उन्मुक्ति पाए । उनलेभन्दा बढी कल गरेका छोरा राहुललाई सिआइबीले १३ भदौ २०८० मा पक्राउ गरेको थियो । सोही वर्षको २७ भदौमा उनीसँग सिआइबीले सोधपुछ गरेको थियो ।
जबकि, २४ असोज ०८० मा राहुलसहित लोकेन्द्र पौडेल, तिब्बती मूलका बेलजियन नागरिक दावाछिरिङ र अर्का व्यक्ति निमा छिरिङविरुद्ध भन्सार छली र संगठित अपराध कसुरमा सात वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर भयो । यसपछि तत्कालीन पुष्पकमल दाहाल सरकारको चौतर्फी आयोजना भयो । त्यो विषयले संसद्मा पनि प्रवेश पायो । अन्ततः महरा पक्राउ परे ।