महोत्तरी - जेनजी प्रदर्शनका क्रममा धनजनको क्षति व्यहोरेका मधेसको प्राचीन मिथिला क्षेत्रका बासिन्दा ती दुःखहरू बिर्संदै ‘दशहारा’ पर्वको तयारीमा जुटेका छन् । मैथिल बोलीचालीमा ‘दशहारा’ भनिने बडादसैँ पर्वको पहिलो दिन आज देवी शक्तिपीठ, मन्दिर र देवी प्रतिमास्थलमा घटस्थापनाका लागि कलश यात्रा भइरहेका छन् । जताततै खुसी र उमङ्गको माहोल छ ।
जिल्लाका जलेश्वरस्थित राजदेवीमाई, सन्सारीमाई, औरही–७ भोइलस्थित सोनामाई र बर्दिबासस्थित पञ्चधुरामाई प्राचीनकालदेखिका प्रमुख देवी शक्तिपीठ मानिन्छन् । यी शक्तिपीठसँगै बर्दिबास–१ र १४ स्थित दुर्गामन्दिर तथा सीतापुरबजारस्थित दुर्गा मन्दिरमा पनि आज घटस्थापनाका लागि कलश यात्रा भइरहेको छ ।
यसैगरी जलेश्वर, मटिहानी, लोहारपट्टि, गौशाला, रामगोपालपुर र पिपरासहितका ठाउँमा देवी प्रतिमा स्थापित गरिँदै छन् । यी सबै ठाउँमा आज वैदिक विधिपूर्वक घटस्थापना गरिन कलश यात्रा आयोजना गरिएको हो । यीबाहेक जिल्लाका सबैजसो स्थानीय तहका बस्तीबस्तीमा नयाँ देवी प्रतिमा स्थापित गरिँदैछ ।
यही असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको यो पर्वलाई नवरात्र भनिन्छ । पहिलो दिनदेखि नवौँ दिनसम्म देवी दुर्गााका विभिन्न रुपको आराधना गरिने यो पर्वमा आज पहिलो दिन घटस्थापनासँगै देवी शैलपुत्रीको पूजाअर्चना गरिने तयारी छ । आज पहिलो दिन देवी प्रतिमास्थलमा घटस्थापनाका लागि एक हजार आठ कन्याले नयाँ माटाका घडामा पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा सुरु गरेका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले आज अपराह्न कलशयात्रा आयोजना गरिने बताए ।
“दशहारा पर्वले पुराना दुःख बिर्सेर नव सिर्जनाका लागि उत्प्रेरित गर्छ, हामी यो पर्व उमङ्ग र भक्तिका साथ मनाउने तयारीमा छौँ,” मण्डलले भने, “यसको प्रारम्भ आज कलशयात्राबाट गरिने छ ।” कलशयात्रामा एक हजार आठ कन्यासँगै नगरवासीको उत्साहबद्र्धक सहभागिता रहने उनको भनाइ छ ।
मिथिलामा यसअघिदेखिका शक्तिपीठ र देवी मन्दिरमा श्रद्धालु भक्तजनले आजदेखि दर्शन र पूजाआराधना गर्नेछन् । तर माटो मुछेर प्रतिमा बनाई स्थापित गरिने देवीस्थलमा भने फूलपातिका दिन विशेष अनुष्ठान गरेपछि मात्र सर्वसाधारणले दर्शन गर्न पाउने परम्परा छ । यद्यपि यस्ता नवप्रतिमा स्थापित गरिने ठाउँमा पनि आज नै घटस्थापना गरी जमरा राखिने मैथिल परम्परा छ ।
घटस्थापनाका लागि पवित्र जल सञ्चय गरिनु पर्वको महत्त्वपूर्ण विधि रहँदै आएको मैथिल बताउँछन् । कलशयात्रामा आज सांस्कितिक झाँकी र बाजागाजासहित नगर÷ गाउँवासी सहभागी हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरी बताए । अहिले देवी शक्तिपीठ, मन्दिर र प्रतिमा निर्माणस्थलमा सरसफाइ, रङरोगन र प्रतिमा सजधजका काममा आम मैथिल जुटेका छन् ।
यसैबीच बर्दिबास–१ चिहानडाँडा वन नजिकको दुर्गा मन्दिरमा नवरात्र उत्सव तथा पुजनोत्सवका लागि दुर्गा पूजा समिति–२०८२ ले आइतबार नै परिसरको सरसफाइ सम्पन्न गरेको छ । समितिले आज बिहानै घटस्थापना प्रयोजनको जल सञ्चय कलशयात्रा गरेर पवित्र रातु नदीबाट ल्याइएको समितिका संयोजक सुमित्रा भट्टराईले जानकारी दिए ।
आज सोमबार घटस्थापना गरिएर जमरा राखिएपछि नवरात्रको नियमित पूजापाठ सुरु हुनेछ । यस क्रममा नवरात्रको छैटौँ दिन षष्ठी तिथिमा बेलनोत (बेल निमन्त्रणा) र सप्तमीका दिन फूलपाती राखिने कार्यक्रम सम्पन्न गरिनेछन् । मिथिलामा नवस्थापित माटो मुछेर बनाइने देवी प्रतिमाको आँखा सप्तमी अर्थात् फूलपातिका दिन बिहान बेलको भेट्नुले खोस्रेर खोलिने मैथिल परम्परा छ । यो षष्ठीका दिन निमन्त्रणा गरिएको बेलको भेट्नुले खोस्रेर खोलिने हो । मिथिलामा बेलनौत र बेलटिपी क्रमश षष्ठी र सप्तमीका दिन सम्पन्न गरिन्छन् । यी दुवै विधि बाजागाजासहित उत्सवमय वातावरणमा सम्पन्न गरिने चलन छ ।
मिथिलामा दुईवटा नवरात्र मनाइन्छ । असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ । दुवै नवरात्रमा देवी पूजनका समान विधि भए पनि वासन्तीमा जमरा राख्ने चलन छैन । यसैगरी मिथिलामा शारदीय नवरात्रपछि दशमी तिथिमा टीका लगाउने स्थापित परम्परा नभए पनि देवीप्रसादका रुपमा जमरा लगाइन्छ । यद्यपि पछिल्ला केही दशकयता पाहाडी/मधेसीबीचको सांस्कृतिक घुलमिलले अब मिथिलामा पनि दशमीका दिन टीका लगाउने चलन बढ्दै गएको छ ।
अहिले शारदीय नवरात्र प्रारम्भसँगै मिथिलाका बस्तीबस्तीमा झिझिया नृत्यका कार्यक्रमको तयारी छ । यसैगरी यहाँका युवा पुस्ता नवरात्रलाई उत्सवमय र मनोरञ्जक बनाउन लिङ्गेपिङ गाड्ने तयारीमा देखिँदा छन् । मिथिलामा दुर्गामेलाको परम्परा हुँदा कैयौँ ठाउँमा जात्राको तयारी छ । दुर्गा मेला हेर्न जाने भन्दै अहिलेदेखि नै ससाना नानीहरू अभिभावकलाई मनाउन लागिपरेका छन् ।