पुराना दलहरूले डेलिभरी दिन सकेको भए, सुशासन कायम गर्न सकेको भए नयाँ दलहरूले खासै स्पेस पाउने थिएनन् । तर नागरिकमा जति असन्तुष्टिको ग्राफ बढ्छ, त्यति नै नयाँ दलहरूको उचाई पनि बढ्छ ।
डा. भेषराज घिमिरे
राजनीतिक विश्लेषक
काठमाडौं- दलीय घेराभन्दा बाहिर रहेर जनमत निर्माण गरेका स्वतन्त्र व्यक्ति र जनप्रतिनिधिहरू दल खोल्ने मेसोमा देखिएका छन् । तयारीलाई हेर्दा आगामी आमचुनावअघि नै उनीहरूले दलीय संरचना खडा गरिसक्ने छन् र दलबाटै चुनाव लड्ने छन् ।
त्यसका लागि ‘वार्मअप’मा देखिएका छन् । देश/परदेश घुमेर कोही जनमतको प्रारम्भिक परीक्षणमा छन् । कोही ठूला सहरी क्षेत्रका मतदाताको मनोभावना बुझ्ने प्रयासमा छन् । यसबीचमा पुराना राजनीतिक दलहरूले देशलाई बर्बाद पारेको भन्दै देशको खराब स्थिति पनि प्रस्तुत गर्दै आएका छन् । खासगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र प्रा.डा. महेन्द्रसुन्दर लावती दल खोल्ने तयारीमा देखिन्छन् ।
हरेक चुनावमा कुनै न कुनै नयाँ दल देखा परेकै हुन्छ तर नयाँले के गर्न सके ? त्यसो हुनाले नयाँ भन्नेबित्तिकै जनताले विश्वास गरिहाल्छन् भन्ने लाग्दैन ।
भीम भूर्तेल
राजनीतिक विश्लेषक
त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र प्राध्यापनरत डा. भेषराज घिमिरे यी व्यक्तिहरूले दल खोले पुराना दलहरूमाथि आगामी चुनावमा झनै चुनौती दिने विश्लेषण गर्छन् । ‘पुराना दलहरूले डेलिभरी दिन सकेको भए, सुशासन कायम गर्न सकेको भए, नयाँ दलहरूले खासै स्पेस पाउने थिएनन्,’ उनले प्रभावसँग भने, ‘तर, नगर्दा नागरिकको असन्तुष्टिको ग्राफ बढिरहेको छ । जति असन्तुष्टिको ग्राफ बढ्छ, त्यति नै नयाँ दलहरूको उचाई पनि त्यहीअनुसार बढ्छ ।’
हुन पनि ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपाल विश्वमा व्यापक भ्रष्टाचार हुने देशको सूचीमा १०८औं नम्बरमा छ । नीतिगत र संस्थागत भ्रष्टाचार मौलाएको प्रतिवेदनहरूले नै देखाएका छन् । राजनीतिक र कर्मचारीतन्त्रले मिलिजुली गर्ने ठूला भ्रष्टाचार काण्डहरूलाई यतिबेला छोपछाप गरिएको आरोप विपक्षी दलहरूको छ । यसले नागरिकमा सरकारप्रति आक्रोशको तह बढाइदिएको छ । अर्कातिर, सुशासनको अवस्था कमजोर छ । बेरोजगारी समस्या उस्तै छ । यस्तोमा सरकारविरोधी जनभावनालाई नयाँ दलहरूले जनमतमा परिणत गर्न सक्ने डा. घिमिरे बताउँछन् ।
काठमाडौं महानगर प्रमुख साह भने जनमत परीक्षण गर्न लागिपरेका छन् । त्यसका लागि उनले आफ्नो सल्लाहकार रहिसकेका ३३ वर्षीय सन्तोष गिरीलाई रुपन्देही-३ मा हुने उपचुनावमा उम्मेदवार बनाउँदै छन् । गिरी गत असारदेखि नै चुनाव क्षेत्रमा माहोल बनाइरहेका छन् । उनी रुपन्देहीको तिलोत्तमा–६ पश्चिम पहुनीका हुन् । डा. घिमिरेका अनुसार दल खोलेर चुनावमा गए बालेन स्वतन्त्रमध्ये जनमत प्राप्त गर्न सक्ने सर्वाधिक प्रभावशाली नेता हुन सक्छन् । उनले भने, ‘ठूला दललाई धक्का दिने क्रेज बालेन साहको देखिन्छ । तर, उनले दल दर्ता गर्ने हैसियत राख्छन् कि राख्दैनन् त्यो अलग कुरा हो, यद्यपि, दल सञ्चालन गाह्रो कुरा छ तर, राम्रो मनोवृत्तिका मानिसहरूलाई संगठित गरेर दल खोले एकपटक उनलाई जनताले विश्वास गर्ने देख्छु ।’
बालेनले दल खोल्छन् कि खोल्दैनन् ? टुंगो छैन । उनी गत स्थानीय तह चुनावमा दशकौंदेखि संगठित जनमतधारी दल र ती दलहरूका उम्मेदवारलाई पराजित गर्ने व्यक्ति हुन् । यदि, दल खोले उनले दक्षिणपन्थी धार समात्न सक्ने कतिपयको टिप्पणी छ । उनीबाहेक दल खोल्न कस्सिने स्वतन्त्र व्यक्तिमा कुलमान घिसिङ हुन् । उनी उज्यालो नेपाल अभियानका ‘नायक’का रूपमा चर्चित छन् । उनले दल खोल्ने घोषणा यसअघि नै गरिरहेका छन् । राजनीतिक उद्देश्यमै केन्द्रित भएर उनले हालै विभिन्न मुलुकको भ्रमण गरी स्वदेश फर्किएका छन् । नेपालमा १८ घण्टा लामो लोडसेडिङ अन्त्यको व्यवस्थापकीय नेतृत्व गर्ने श्रेय उनैलाई जान्छ । कतिपयले त उनलाई उज्यालोको पर्यायको रूपमा पनि अथ्र्याउने गरेका छन् । त्यसो हुनाले आगामी आमचुनावमा दल खोले उनी पनि पुराना दलहरूका लागि चुनौती बन्न सक्ने ठानिएको छ ।
धरानका प्रमुख हर्कराज राई दल खोल्ने भन्दै हालै काठमाडौं आए । उनले ‘श्रमदान संस्कार’ स्थापित गरेका छन् । श्रमदान अभियानकै कारण उनी चर्चामा आएका छन् । हरेक वर्ष बजेटसहितको नीति तथा कार्यक्रम ल्याउन दलीय जनप्रतिनिधिले अवरोध पुर्याएपछि उनी दल खोल्ने मुडमा पुगेको उनीनिकटस्थहरू बताउँछन् । २०८१ को वैशाखमा इलाम-२ मा भएको उपचुनावमा उनीसमेतको समर्थनप्राप्त पहिचान पक्षधर साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजारभन्दा बढी मत पाएका थिए । यसबाट पनि उनी दल खोल्न हौसिएको देखिन्छ । उसो त उनी आफैं गत स्थानीय चुनावमा दलीय उम्मेदवारहरूलाई पन्छाउँदै स्वतन्त्र नगरप्रमुख निर्वाचित नेतृत्व हुन् । उनी पहिचानपक्षधर देखिएकाले उनको दलले पहिचानवादलाई नै बोक्न सक्ने चर्चा हुने गरेको छ । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि दल खोल्ने तयारीमा छन् । उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक हुन् । उनले दल खोल्ने तयारीस्वरूप केन्द्रीय भेला यही भदौ २० र २१ गते भक्तपुरमा बोलाएका छन् ।
गत १५ चैतमा राजसंस्था पक्षधरहरूले गरेको हिंसात्मक प्रदर्शनपछि जेल परेका उनी हालै रिहा भएका हुन् । उनले पनि दक्षिणपन्थी धारको दल निर्माण गर्ने उनीनिकट एक नेताले बताए । अमेरिकामा लामो समय राजनीतिशास्त्र प्राध्यापन गरेका प्रा.डा. महेन्द्रसुन्दर लावती पनि दल खोल्ने तयारीमा छन् । हाल उनी पहिचानवादी मोर्चाको संयोजक हुन् । इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई उनी नेतृत्वको मोर्चाको पनि समर्थन थियो । मोर्चा प्रदेशको नाम कोशी खारेजी र ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार’ आन्दोलनको अग्रमोर्चामा थियो । उनले वर्तमान संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएको भन्दै असन्तुष्ट समूहलाई गोलबद्ध गर्न खोजेका छन् । उनी संघीयताविद् पनि हुन् । उनै लावतीले पनि नयाँ दल खोलेर आगामी चुनावमा पुराना दललाई चुनौती दिन खोजेका छन् ।
तर, राजनीतिक विश्लेषक भीम भूर्तेल नयाँले पनि केही गर्न नसक्ने देखिसकिएको बताउँछन् । त्यसो हुनाले दल खोलेर चुनावमा गए पनि उनीहरूलाई जनताले विश्वास गरिहाल्ने स्थिति नदेखिएको उनको भनाइ छ । ‘हरेक चुनावमा कुनै न कुनै नयाँ दल देखा परेकै हुन्छ तर नयाँले के गर्न सके ? त्यसो हुनाले नयाँ भन्नेबित्तिकै जनताले विश्वास गरिहाल्छन् भन्ने लाग्दैन,’ उनले भने । गएको आमचुनावबाट भने स्थानीय तहमा बालेन, हर्क र गोपी हमाललगायत नेताहरू जनताबाट चुनिए । प्रतिनिधिसभा चुनावबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नयाँ दलका रूपमा चुनिएका थिए ।