- राजतन्त्र पक्षधरहरूको आन्दोलन उपलब्धिविहीन
- शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्रको फेरि राजा हुने सपनामा तुषारापात
- राजेन्द्र लिङ्देन आन्दोलनबाट गुपचुप बाहिरिए
काठमाडौं– राजा फर्काउन निर्णायक भनिएको राजतन्त्र पक्षधरहरूको आन्दोलन कमजोर बन्दै गएको छ । आन्दोलन प्रभावकारी नदेखिएसँगै उपत्यका बाहिरबाट ल्याइएका राजतन्त्र पक्षधरहरू त्यसै घर फर्किएका छन् । गणतन्त्र पक्षधरलाई गम्भीर धक्का दिने आन्दोलन नहुँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने निराशा बनेको बताइएको छ । उनी तेस्रोपटक राजा हुन चाहन्थे । भनिन्छ, त्यसकै लागि उनले सबै राजतन्त्रपक्षधर शक्तिलाई आन्दोलनको मोर्चामा उभ्याउन पृष्ठभूमिबाट संयोजन गरेका थिए । तर, आन्दोलन असफल र निष्प्रभावी बन्यो । फेरि, राजा हुने ज्ञानेन्द्र सपनामा तुषारापात भयो ।
यहीबेला राजतन्त्र पक्षधरको मूल शक्ति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन त आन्दोलनबाटै बाहिरिएका छन् ।कमल थापा नेतृत्वको राप्रपा नेपालका एक पदाधिकारीको भनाइमा ‘आन्दोलनबाट लिङ्देनको बहिर्गमन शंकास्पद छ ।’ ती नेताका अनुसार यही १८ गते नारायणचौरबाट कमल थापा पक्राउ परेपछि सोही राति ९ बजेतिर रिहा भएसँगै थापा र सांसद दीपक सिंह राप्रपा पार्टी कार्यालयमा गएका थिए, जहाँ लिङ्देनबाट खादा र अबिर लगाएर दुवैलाई सम्मान गर्ने काम भयो । तर, उनले १२ बजेतिर आन्दोलनको विरुद्धमा स्टाटस लेखे । २१ गते राजतन्त्रका लागि गरेको आन्दोलनको समीक्षात्मक बैठकमा लिङ्देन गएनन् । यससँगै लिङ्देन राजतन्त्रपक्षधरहरूको आन्दोलनबाटै बाहिरिएका हुन् ।
राजा फर्काउन र हिन्दु अधिराज्य पुनःस्थापना गर्न राजतन्त्रपक्षधरहरूले भारतको समर्थन खोजेका थिए । त्यसका लागि पत्र नै लेखेका थिए । भारतले यसबारे कुनै जवाफ दिएन । यता आन्दोलन फासफुस भयो ।अर्कोतिर, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले हाल चर्चामा रहेका पात्रहरूमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको टिप्पणी ग¥यो । यो टिप्पणी ज्ञानेन्द्र र उनका नाति हृयन्द्रप्रति लक्षित थियो । बरु, जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समिति अध्यक्ष डा. रामचन्द्र अधिकारीले विज्ञप्ति जारी गरी सो धारणा सार्वजनिक गरेका हुन् ।
हालैका दिनमा ज्ञानेन्द्रलाई राजाको रूपमा अस्वीकार गर्ने भए हृदयन्द्र विकल्प हुने मत संस्थापक पक्षधरहरूको थियो । यसको मुख्य वक्ता राप्रपा नेपालका अध्यक्ष कमल थापा हुन् । थापाले ज्ञानेन्द्रकै छोरा पारसलाई ‘स्किप’ गरेर नाति हृदयन्द्रलाई विकल्पमा अघि सारेका थिए । तर, आन्दोलन तुहिनु, राप्रपा अध्यक्ष लिङ्देन आन्दोलनबाट बाहिरिनु, बुढ्यौली नेता नवराज सुवेदीले आन्दोलनलाई हाँक्न नसक्नु र जनता बटुल्न सक्ने दुर्गा प्रसाईं हिरासतमा रहनुले राजतन्त्र पक्षधरहरूको आन्दोलन अर्थपूर्ण नभएको त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका सहप्राध्यापक डा. भेषराज घिमिरेको विश्लेषण छ । उनको विचारमा गणतन्त्रपक्षधर शक्तिहरूले डेढ दशकसम्म पनि जनतालाई ‘डेलिभरी’ दिन नसक्दा राजतन्त्र पक्षधरहरूको सक्रियता बढाउने ठाउँ बनेको थियो ।
ज्ञानेन्द्र स्वयंले नयाँ वर्षको अवसरमा गत १ वैशाखमा जारी गरेको भिडियो सन्देशमा देशको खराब स्थिति चित्रण गरेका थिए । देशको संकटमोचनका लागि राजतन्त्र उपयुक्त विकल्प हुने उनको मत थियो । यहाँ उनी फेरि राजा हुन चाहन्छन् भन्ने भावको प्रकटीकरण भएको हो । उनले राजतन्त्र फर्काउन माहोल बनाउन वर्षौंदेखि प्रयास गरे । मन्दिर दर्शनको नाममा देशभित्र राजतन्त्र पक्षधरहरूसँग भेटघाट गरे । देशबाहिर भारत र भुटानको पटकपटक भ्रमण गरेर राजतन्त्र फर्काउन अन्तर्राष्ट्रिय माहोल बनाउन जोडबल गरे । त्यहीबीच भारत रक्षा र परराष्ट्र भारतको अधिनमा रहनेगरी नेपालमा राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनका लागि सकारात्मक रहेको विवरण सार्वजनिक भए, जुन भुटानी राजतन्त्रको मोडल हो ।
२५ फागुनमा पोखरादेखि काठमाडौं फर्किँदा सडकमा देखिएको भिडले ज्ञानेन्द्रले राजतन्त्रको पक्षमा जनमत बढाउँदै गरेको सन्देश गएको थियो । तर, १५ चैतको तीनकुने हिंसापछि यो आन्दोलन केही कमजोर बन्यो । यही १५ जेठदेखि करिब एक साता गरेको आन्दोलनमा उपत्यकाबाहिरदेखि आन्दोलनकारी ल्याउनुप¥यो । हाल ‘संयुक्त जनआन्दोलन’ समिति संयोजक सुवेदीले दोस्रो चरणको कार्यक्रम सार्वजनिक भइसकेको छ । यद्यपि, सार्वजनिक कार्यक्रम हेर्दा राजा फर्काउनेगरिको धक्कादार देखिएको छैन । सुवेदीले भने आन्दोलन झनै सशक्त हुने दाबी गरेका थिए ।
यता राप्रपा अध्यक्ष लिङ्देनले त वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने बताएका छन् । अब उपयुक्त समयमा मात्रै आन्दोलन गरिने बताए । गृहजिल्ला झापाको हल्दिबारीमा पत्रकारहरूसँग शनिबार उनले भने, ‘राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै पार्टीले गरेको आन्दोलन होइन, देशको संकटमोचनका लागि हो । अब उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्छ ।’ लिङ्देनका अनुसार अब असार लागेकोले हत्तपत्त आन्दोलन हुने अवस्था छैन । लिङ्देनको भनाइले पनि आन्दोलनका कार्यक्रम सामान्य र औपचारिक मात्रै हुने देखिन्छ, जसले गणतन्त्र पक्षधरहरूलाई दबाब सिर्जना गर्न नसक्ने राजनीतिक विश्लेषक घिमिरेको भनाइ छ ।
जबकि, पृथ्वीनारायण शाहले संस्थागत गरेको राजतन्त्रको १२औँ राजा ज्ञानेन्द्र भए । तर, उनले १८ असोज २०५९ र १९ माघ २०६१ मा प्रत्यक्ष शासन चलाएर बुबा महेन्द्रपथमा अघि बढेपछि गणतन्त्रको जग खनिएको अर्थमा विश्लेषण हुने गरेको छ । यति हुँदाहुँदै पनि ज्ञानेन्द्र तेस्रोपटक राजा हुने अन्तिम प्रयासमा छन् । आन्दोलन भने सेलाएपछि उनको राजा हुने सपना तुहिएको छ ।