खाँदबारी - शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ । उनका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ । सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । “बाढीले आयोजना पूर्ण रूपमा बगाएको छ”, उनले भने ।
त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए । उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन् । “सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ”, अध्यक्ष भोटेले जानकारी दिए ।