काठमाडौं - मक्कामा हज (विशेष प्रकारको नमाजर प्राथना) गर्न जाने नेपाली ‘हाजी’ हरुलाई खानेपानी मन्त्री प्रदीप यादवले बिदाई गरेका छन् ।खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका हुन् ।
उनले भने, “हजका लागि जाने ‘हाजी’ हरुलाई उहाँहरुको यात्रा धर्म, आस्था र मानवता प्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु ।”
मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षै पिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन् ।नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १ सय ७१ जना जाने जनाइएको छ । पहिलो चरणको लागि यही जेठ ३ गते ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया गएका जनाइएको छ ।
देशैभरि छरिएर रहेका मुस्लिम नेपालीहरुलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गरेर पठाएपछि केन्द्रिय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरु आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् ।
साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा बिशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि बिश्वभरिबाट मुस्लिमहरु मक्का पुग्ने गर्दछन् ।