काठमाडौं - नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् । बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती हो ।
समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् ।पौडेल २०७९ को आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् ।
निर्वाचनमा पराजित भए पनि पुनः अध्यापन पेशामा फर्केका पौडेल नेपाली कांग्रेसको कोटाबाट मंगलबार राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका पौडेल पद छाडेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गएका थिए ।