काठमाडौं- तामाङ संस्कार र संस्कृतिसम्बन्धी निर्देशिका पुन प्रकाशन भएको छ । अन्तरराष्ट्रिय तामाङ परिषद्(आइटीसी)ले पुन प्रकाशन गरेको निर्देशिका हालै सार्वजनिक गरेको हो ।
आइटीसीको सन् २००५ को सम्पन्न दोस्रो सम्मेलनले पहिलो तामाङ संस्कार संस्कृति निर्देशिका प्रकाशित गरेको थियो । त्यसपछि सन् २०१३ मा सम्पन्न तेस्रो र २०१८ को मिरिक सम्मेलनबाट निर्देशिका पारित गरेको थियो । पछिल्लो सुझावहरुलाई समेटेर निर्देशिका प्रकाशित गरिएको आइसीटीका महासचिव टासी लामाले बताए ।
विश्वभरी छरिएर रहेका तामाङहरुले संस्कार संस्कृति सम्बन्धी जानकारी लिने र दैनिक संस्कार सहज बनाउन निर्देशिका पुन प्रकाशरन गरेको लामाले बताए । यस संस्करणमा जन्म संस्कार, कर्म संस्कार, मृत्यु संस्कार र विविधमा पोशाक मापदण्डदेखि स्वाँगे भाइका विषयहरुसमेत समेटिएका छन् । ३४ पृष्ठको यो निर्देशिकाको प्रकाशन सहयोगी तामाङ घेदुङ युकेका सल्लाहकार दावा ग्याम्जो स्याङ्बो रहेका छन् ।
निर्देशिका तामाङ भाषा र अंग्रेजी भाषामा पनि प्रकाशनको तयारीमा रहेको महासचिव लामाले बताए । यसैगरी यससम्बन्धी डिजिटल सामग्रीहरुसमेत प्रकाशनको तयारीमा रहेको आइसीटीले जनाएको छ । प्रकाशित निर्देशिका सम्बन्धी जानकारी र सचेतना जगाउन विश्वभरका सदस्य रहेको देशहरुमा गोष्ठी सञ्चालन गर्ने तयारी आइसीटीको रहेको जनाएको छ ।