- कोकाहाको पानी धरान नजिकको पकुवा खोलामा झारियो
-मेयर हर्क पकुवामा कोकाहाको पानी झर्दा भावविह्वल
-देश तथा विदेशबाट हर्कलाई जननेताको रुपमा चित्रण
काठमाडौं- देशको पूर्वी क्षेत्रको सहर धरानको चर्को खानेपानी समस्या समाधानमा मरिमेटेर खटिएका मेयर हर्क साम्पाङको देश तथा विदेशबाट प्रशंसा भइरहेको छ । कतिपयले त उनलाई जननेता जसरी टिप्पणी पनि गर्न थालेका छन् ।
मंगलबार मध्यरातमा कोकाहाबाट ल्याइएको पानी धरान नजिकको पकुवा खोलामा झारिएपछि साम्पाङले चौतर्फी वाहवाही पाइरहेका छन् । सुक्खायाममा हालसम्मकै सर्वाधिक काकाकुलको नियती भोग्दै आएका लाखौं धरानेका लागि ल्याइएको कोकाहाको उक्त पानीको वितरण भने केही दिनमा गरिने जनाइएको छ ।
उपमेयर आइन्द्रविक्रम बेघाका अनुसार पकुवा खोलाबाट यसअघि ल्याइएको पानीको पाइपमा अब कोकाहाको पानी मिसाइनेछ । यसपछि मात्रै ट्यांकीमा जम्मा गरेर धरानका उपभोक्ताहरूलाई वितरण गरिनेछ । श्रमदानमा मेयर साम्पाङसँगै खटिएका र हाल बिसञ्जो रहेका उपमेयर बेघाले प्रभावसँग भने, ‘कोकाहाको पानीले धराने जनताको पानी समस्या केही हदसम्म अब समाधान हुनेछ ।’
हरेक सुक्खायाममा करिब छ महिना पानीको समस्या धरानवासीले बेहोर्दै आएका छन् । जबकि, खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न एसियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान सहयोगमा भूमिगत खानेपानी आयोजना सञ्चालनमा छ ।तर, धरानमा पानीको हाहाकार नै छ । धरानवासीको यही समस्यालाई राजनीतिक एजेण्डा बनाउँदै अन्ततः स्वतन्त्रबाट निर्वाचित मेयर हर्कले खानेपानी जसरी पनि धरानवासीलाई खुवाउने भन्दै श्रमदान गर्ने र गराउँदै अहोरात्र खटिएका छन् ।
परिणामतः कोकोहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर चार दिनदेखि फिल्डमै श्रमदान गर्न खटिएका हर्क र उनलाई श्रमदानमा सहयोग गर्ने टोली पानी ल्याउन सफल भए । करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी मंगलबार मध्यराति १२ बजेर ३ मिनेटमा माया धराने साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलाको वास आउट पोइन्टमा झारिएको छ ।
आइतबार रातिदेखि पटनाली क्षेत्रमै पाइप जोड्न र तान्नमै हर्क व्यस्त थिए । श्रमदान अभियानमार्फत पाँच इञ्चे पाइपमार्फत कोकाहाको पानी ल्याउन सफल भएपछि भावुक भए, साम्पाङ । उनको आँखा रसाए । त्यत्तिकैमा पाइपबाट खस्दै गरेको पानीले मुख धोए ।टाउकोमा पानी थापिरहे ।लामो संघर्षपछिको उपलब्धि देखेर साम्पाङ एकछिन टोलाइरहे । अनि, श्रमदान गर्ने सबैलाई धन्यवाद दिए । ‘खानेपानी राजनीति’बाट धरानको मेयर निर्वाचित भएका साम्पाङ धरानको खानेपानी संकट समाधान खातिर निरन्तर खटिँदै आएका छन् ।
उनको केहीले भने विरोध पनि गरेका छन् । तर, धेरैको धरानेको समर्थन छ । त्यही भएर देश तथा विदेशमा रहेका धरानेहरूबाट पानीका लागि करिब चार करोड रुपैयाँ सहयोग संकलन भइसकेको उपमेयर बेघाले बताए । उनका अनुसार कतिपय दाताले पाइपसमेत खानेपानी आयोजनाका लागि दिए ।जसकारण धरानको वडा नम्बर २० स्थित हात्तीसार भन्ने ठाउँबाट कोकाहाको पानीलाई पाइपमार्फत बराहक्षेत्र हुँदै ल्याउन सकिएको हो ।
यसअघि धरान आसपासका खोलाहरू पकुवा, निसाने र भालुखोलामा खानेपानीको पाइपलाइनसमेत विस्तार गरेर पानी संकलन गरिँदै आएको छ ।नेपाल खानेपानी संस्थानले सर्दु–खर्दु मुहानबाट हिउँदमा दैनिक करिब ४० लाख लिटर र चारकोसे जंगलमा जडान गरेको पाँचवटा डिप ट्युबेलबाट आवश्यक खानेपानी आपूर्ति गर्दै आएकोमा हाल धरान खानेपानी आयोजनाअन्तर्गतको धरान खानेपानी व्यवस्थापन बोर्डमातहतको सातवटा डिप ट्युबेलले दैनिक खानेपानी आपूर्ति गर्दै आएको छ ।
तर, खानेपानी बोर्डले स्थानीय उपभोक्तालाई आफ्नै ट्यांकरबाट पानी आपूर्ति गर्न सबैलाई नसकेपछि यतिबेला धरानमा निजीस्तरमा सञ्चालित दुई दर्जनभन्दा बढी खानेपानी ट्यांकर व्यवसायीलाई पानी वितरण गर्न भ्याइनभ्याई भएको छ । ट्यांकर व्यवसायी जयन्त गौतमले धरानभरिमा स्थानीय उपभोक्ता, होटल व्यवसायी, रेस्टुराँ सञ्चालकहरूले दैनिक १२ लाख लिटरदेखि १५ लाख लिटर किनेर प्रयोग गरिरहेका बताए ।
उनका अनुसार ठूला ट्यांकर व्यवसायीले प्रतिलिटर ६० पैसामा बिक्री गरिरहेका छन् भने पिकअपमा ड्रम राखेर ल्याउनेहरूले १ रुपैयाँ लिटरमा बिक्री गरिरहेका छन् ।खानेपानीको अभावले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन/अध्यापन एक साताका लागि स्थगित भएको छ । विद्यार्थीहरूलाई घर जाने बिदा दिइएको छ ।
पानीको अभावका कारण धरानमा कोठा भाडामा लिएर स्कुल–कलेज पढ्ने विद्यार्थी, सानोतिनो व्यापार व्यवसाय गर्ने परिवारसमेत तत्कालका लागि आफ्नो घरमा फर्किएका छन् । यस्तो चरम खानेपानी समस्या धरानमा रहँदा मेयर हर्क र श्रमदानमा स्वतःस्फूर्त जुुटेका धरानेले कोकाहा खोलाको पानी ल्याएका हुन् ।
कोकाहाको पानीले केही हदसम्म धरानेलाई राहत मिल्ने तर पूरै खानेपानी समस्या भने नटर्ने स्वयं हर्क बताउँछन् । उनले भन्दै आएका छन्, ‘धरानमा पानी कोशीबाट ल्याउनुपर्छ । त्यसो गरिए धरानको खानेपानीको दीर्घकालीन समस्या समाधान हुन्छ ।’मेयर हर्क र उनको नेतृत्वको श्रमदाताहरूले पकुवासँगै सर्दुलगायत क्षेत्रबाट यसअघि पनि धरानमा पानी ल्याएका छन् ।