-तीन महिनामा राष्ट्रपति पौडेल तीन पटक तीन फरक–फरक अस्पताल भर्ना
-शीतलनिवास पुगेपछि झण्डैै १८ दिन अस्पतालमा बास
-पेटदेखि मुटुमा समस्या देखिएको भनिए पनि राष्ट्रपतिको रोगलाई शीतलनिवासले अझै छैन खुलाएको
काठमाडौं- २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलको स्वास्थ्यमा दिनानुदिन समस्या थपिएको छ । कुनै बेला केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपचारका लागि अस्पताल लगिएको झल्को दिनेगरी राष्ट्रपति पौडेल लगातार उपचारमा निस्किएका छन् ।
मंगलबारमात्र राष्ट्रपति पौडेल छाती दुखेर काठमाडौंको बाँसबारीस्थित सहिद गंगलाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका लागि भर्ना भए । अस्पतालमा भर्ना हुनासाथ पौडेलको छातीको एनजिओग्राम गरिएको थियो । सुरुआती रिपोर्ट राम्रो देखिएको अस्पतालले जनाएको छ । ‘राष्ट्रपतिलाई बिहान ७ बजे भर्ना अस्पताल गरिएको हो,’ शीतलनिवास सचिवालयले भन्यो ।
दम र ग्यास्ट्रिकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको हो । पौडेललाई अस्पतालको भिआइपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ । भर्नापछि मुटुको परीक्षणका लागि ‘एनजिओग्राम’ समेत गरिएको र आजै पौडेललाई डिस्चार्ज गर्ने तयारी रहेका गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षणको क्रममा यस सहिद गंगलाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना हुनुभएको र उहाँलाई चिकित्सकहरुको सल्लाहअनुसार २४ घण्टा अवलोकनमा राखी डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँदछौं,’ निर्देशक डा. अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
राष्ट्रपति भएपछि धमाधम अस्पताल
पहिलोपटक राष्ट्रपति चैत १८ गते शिक्षण अस्पताल भर्ना भएका थिए, पौडेल । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल उपचारका लागि शिक्षण अस्पताल पुगेका थिए । त्यतिबेला उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमुनी पेट र बाँया कोखा दुख्ने समस्या थियो । पौडेल अघिल्लो दिन १७ गते पनि अस्पताल पुगेका थिए । उक्त दिन उनको अल्ट्रासाउण्ड, एक्सरे र रगत जाँच गरिएको थियो ।
पौडेल पाँच दिन अस्पताल बसी स्वास्थ्यलाभ गरेर शिक्षण अस्पताल महाराजगञ्जबाट शीतलनिवास फर्किएका थिए । अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाले पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज भएको बताएका थिए । राष्ट्रपति बिरामी भएको केही दिनमा चैत २४ गते शीतलनिवासले डा. निरज बमलाई पौडेलको निजी चिकित्सकको रुपमा नियुक्ति दियो । डा. बम छाती रोग विशेषज्ञसमेत हुन् ।
त्यतिबेला राष्ट्रपति पौडेललाई केही समय पूर्णरूपमा आराम गर्न चिकित्सकले सुझाव दिएका थिए । त्यसको केही समयपछि वैशाख ५ गते राष्ट्रपति पौडेल फेरि अस्वस्थ भए । शीतलनिवासमै बेहोस भएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भए ।स्वास्थ्यको गडबढी नेपालमा ठीक हुने नदेखिएपछि शिक्षण अस्पताल चिकित्सकले पौडेललाई थप उपचारका लागि भारत लैजान सुझाएका थिए । लगत्तै वैशाख ६ गते पौडेललाई एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल आज बिहान १०ः०० बजे श्री एयरलाइन्सको विमानबाट दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचारको लागि प्रस्थान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालका प्रवक्ता सागर आचार्यले वक्तव्य जारी गर्दै भनेका थिए, ‘नेपालको त्रिवि शिक्षण अस्पताल र एम्स अस्पतालका चिकित्सकहरूको बीचमा परामर्श हुँदा उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि त्यहीँ जान उपयुक्त हुने राय आएपछि भारतको एम्स अस्पताल जानुभएको हो ।’
वैशाख ४ गते पेटमा समस्या देखिएपछि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए ।त्यतिबेला उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले तत्कालै निवास पठाएकोमा पौडेल पुनः अस्वस्थ भएका थिए ।
भारतबाट उपचारपछि वैशाख १७ गते पौडेल नेपाल फर्केका थिए । दोस्रोपटक पौडेलको अस्पताल बास १२ दिनको रह्यो । पछिल्ला दिनहरुमा पौडेल शीतल निवासमै आराम गरिरहेका थिए । स्वस्थमा समस्या देखिएपछि कमै मानिससँगमात्र भेटघाटको कार्यक्रम हुन्थ्यो । सरकारको नीति तथा कार्यक्रमसमेत पौडेलले पेस गर्न नसक्ने चर्चा चलेको थियो । यद्यपि, पौडेल सकीनसकी संसद् पुगे र नीति तथा कार्यक्रम पेस गरे ।
नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर सलामी ग्रहण गर्दासमेत पौडेलका अवस्था कमजोर देखिन्थ्यो । राष्ट्रपति पौडेललाई के भएको हो ? दम, ग्यास्ट्रिक र पेटमा समस्या देखिएको भनिए पनि यसबारे अझै प्रस्ट पारिएको छैन । पौडेललाई पिसाबसम्बन्धी समस्या रहेको बताइए पनि शीतलनिवासले भने रोगलाई गोप्य नै राखेको छ ।