काठमाडौं– स्वास्थ्यमन्त्री बन्न साढे दुई करोड रुपैयाँ सहयोग मागेको अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठ पार्टीबाट निष्काशित भएका छन् । बुधबार रास्वपा केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टी सभापति रवि लामिछानेले पार्टीको अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधानविपरीत काम गरेकोले श्रेष्ठलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको बताए ।
उनले श्रेष्ठको प्रतिनिधिसभा सदस्य पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र उनको स्थानमा विन्दवासिनी कंशाकारलाई सांसदमा निर्वाचित गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णयसमेत भएको जानकारी दिए । निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमानुसार कंशाकार अघि रहेकाले उनलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको बताइएको छ ।
श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइंसँग पैसा मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको निष्कर्ष रास्वपाले निकालेको छ । श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न विवादित मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड ५० लाख रूपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । प्रसाईंसँगको टेलिफोन कुराकानीमा श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न पार्टीको ‘कोर टिम’लाई उक्त रकम बुझाउनुपर्ने बताउँदै सहयोग गर्न आग्रह गरेका थिए । आफैं विवादित रहेको प्रसाईंले पनि सहयोगको प्रतिबद्धता जनाएका थिए । श्रेष्ठले प्रसार्इंलाई मिलेर काम गर्ने र उनको कामसमेत गरिदिने वाचा गरेको अडियोमा प्रस्ट सुनिन्छ ।
श्रेष्ठले भने उक्त अडियोमा आफ्नो स्वर नभएको भन्दै खण्डन गरेका थिए । उनले विज्ञप्ति नै निकालेर अडियो वास्तविक नभएको दाबी गरेका थिए । मंगलबार पार्टीको अनुशासन समितिमा वयान दिनेक्रममा पनि उनले सोही अडान दोहो¥याएका थिए । तर, बुधबार उनी आफैंले अडियोको सत्यता स्वीकार गरे । उनले पत्रकार सम्मेलन गरी आफूलाई फसाउन जनवरीको अडियो अहिले आएर सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरे । श्रेष्ठले उपचुनावको संघारमा पार्टीलाई क्षति पु¥याउने उद्देश्यले पुरानो अडियो सार्वजनिक गरेको आरोप लगाए । उनको यो अभिव्यक्तिले अडियो उनकै भएको पुष्टि भएको छ । र, सोही प्रकरणले उनी पार्टीबाट निष्काशित तथा समानुपातिक सांसदको पदसमेत गुमाउनुपरेको छ ।
‘कोर टिम’ बारे खुलासा गर्ने धम्की
श्रेष्ठले उक्त प्रकरणमा आफूलाई कारबाही गरे ‘कोर टिम’को नाम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका थिए । बुधबार पत्रकार सम्मेलनमा उनले समस्यामा पर्दा पार्टीले पनि आफूलाई साथ नदिए कोर टिमको बारेमा खुलासा गर्ने बताएका हुन् । पार्टीले कारबाहीको निर्णयप्रति पनि उनले असन्तुष्टि जाहेर गरेका छन् । अडियो सुनेर आफूलाई कारबाही गरेपछि त्यसमा उठेको विषयमा पनि सम्बोधन हुनुपर्ने श्रेष्ठले माग गरेका छन् ।
‘अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधनचाहिँ गर्नु पर्छ कि पर्दैन ? त्यहाँ कोर टिमको कुरा उठेको छ । त्यसको खोजी गर्न सक्छन् उनीहरु ?,’ अनलाइनखबर डटकमले बुधबार साँझ श्रेष्ठको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘जे कुराको पनि प्रक्रिया हुन्छ । मलाई निलम्बित गरेको, अनि तुरुन्तै सदस्यता नै नरहने घोषणा गरेको सुनियो । अस्ति रवि लामिछानेजीको नागरिकतासमेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र ? उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदै थियो । यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो । अहिले मसँग अर्कै व्यवहार गरियो । यस्तो नि कहीँ पार्टी हुन्छ ? कुराहरु धेरै छन् । अहिले धेरै नखोलौं । मैले आज ठण्डा दिमागले सोचेर आफ्नो कदम चाल्छु ।’
सभापति लामिछानेले भने श्रेष्ठले कोर टिमबारे प्रस्ट पार्न नसकेको बताए । श्रेष्ठले त्यसलाई ‘बागेर्निङ पोइन्ट’को रुपमा अघि सारेको दाबी उनले गरे । वयानका क्रममा श्रेष्ठले अडियो आफ्नो नभएको बताए पनि आफूलाई कारबाही गरे पार्टी सिध्याउने चेतावनी दिएको बताए । ‘उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौं । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ,’ लामिछानेले भने ।
श्रेष्ठले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धतासमेत लामिछानेले व्यक्त गरे । ‘उहाँले कोर टिम भन्नुभएको छ । त्यसमा को हो भनेर अनुसन्धान गर्न नै हामीलाई कुनै आधार भएन,’ बुधबारको पत्रकार सम्मेलनमा उनले भने, ‘बरु यसबारे सरकारका सम्बन्धित निकायले छानबिन गरिदिए त्यसका लागि हामी सहयोग गर्छौं ।’