काठमाडाैं - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेका छन् ।
सोमबार काठमाडाैंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् ।
उनले संसदमा कोरम पुर्याउने कुरामा पनि महिलाहरूको उपस्थिति महत्त्वपूर्ण रहे पनि त्यसको बाहिरी पक्षमा मूल्याङ्कन गर्न नसकेको बताइन् । संसद्को बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्याङ्कन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने उनकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ । कति सफल भएका हौँला, कति असफल भएका हौँला । हामीले देखेका छाैँ, संसदभित्र कानुन बनाउँदै गर्दा सबैभन्दा धेरै संशोधन महिलाहरूले नै हाल्छन्, संसदमा कोरम पुर्याउन सबैभन्दा ठूलो सङ्ख्या महिलाको नै हुन्छ । तर पनि बाहिर आउँदा महिलाहरूकाे मूल्याङ्कन हुँदैन, चर्चासम्म पनि हुँदैन । संसद्को बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि कसको बढी सहभागिता छ भन्ने कुरा चर्चाको विषय बन्नुपर्छ ।’
मन्त्री शर्माले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट भने नभएको बताइन् । उनले पुरुष असफल हुनु भनेको एउटा व्यक्तिमात्रै असफल हुनु रहेको तर महिलाहरू असफल हुँदा समाज नै असफल हुने टिप्पणी गरिन् ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १९:२३