काठमाडौं- सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ ।ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् ।
ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।
आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडरमा क्षति गराएका छन् । बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नुका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् ।
आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।
विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ ।