पोखरा- पोखरामा आइतबार बिहान जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ ।
पोखरा महानगरपालिका-१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेका हुन् ।
उनीहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए ।
‘महिला ८५ प्रतिशत जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ, अवस्था चिन्ताजनक छ’, अस्पतालका निर्देशक भरत खत्रीले भने, ‘पुरूष २५ प्रतिशतमात्र जलेका छन्, इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।’
घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन् । कृष्णबहादुरकी श्रीमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन् । घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन भएको छैन ।
प्रहरीका अनुसार कृष्णले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी महिलाले देखेर बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १९:४३