भोजपुर - यहाँको रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।
सहजरूपमा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् । वडा नं ७ बासीखोराका ८२ वर्षीय वृद्ध जागिरधन राईले आफ्नै घर छेउबाट भत्ता लिन पाउँदा हर्षित भएको बताए ।
भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उनको भनाइ छ । “वडाबाटै भत्ता पाउँदा अति नै खुसी लागको छ”, वृद्ध राईले भने, “बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो । गाउँपालिकाबाट सरहरू आएर यही भत्ता दिए।
अहिले धेरै सहज भएको छ ।” जनप्रतिनिधि आएर पीडा सुन्दै हातमा भत्ता राखिदिएको भन्दै ७७ वर्षीया चेलीमाया राईले खुसी प्रकट गरे । गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलका मानिस भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।
खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण)ले बताए । अभियानअन्तर्गत गाउँपालिकाभरिका सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण एक हजार नौ सय तीन जनालाई भत्ता वितरण गरिने उनको भनाइ छ ।
“यहाँका ज्येष्ठ तथा अशक्तलाई लक्षित गरेर सेवा दिइरहेका छौँ”, अध्यक्ष राईले भने । सरकारले राहतको रूपमा दिएको सामाजिक सुरक्षा भत्ता लिन आउँदा समस्या भएको गुनासो आफूसम्म आएपछि कार्यपालिका बैठकबाट निर्णय पारित गरेर कामको थालनी गरेको राईले बताए ।
बुधबारबाट सुरु भएको वितरणकार्य माघ १९ गतेसम्म सञ्चालन हुने छ । वडास्तरमै खाता खोल्ने कामसमेत भइरहेको उनले जानकारी दिए । नागरिकको गुनासो सुनेर सोहीअनुसार काम गर्नका लागि सम्पूर्ण वडामा कल सेन्टर सञ्चालनका लागि काम गर्ने योजना रहेको समेत अध्यक्ष राईले बताए । उनले भने, “नागरिकको गुनासो तथा सुझाव सङ्कलनका लागि कल सेन्टर सञ्चालनका लागि काम गरिरहेका छौँ ।”
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ १८:२९