सिरहा -दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर राखिने भएकाे छ ।
रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ ।
ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए ।
“ट्र्याक्टरको ट्रलीमा बत्तीको व्यवस्था नहुँदा राति दुर्घटनाको जोखिम बढी हुन्छ । त्यसैले ट्रलीमा टल्किने स्टिकर (रिफ्लेक्टिभ) टाँस्न थालेका छौँ”, उनले भने
चिसोमा बाक्लो हुस्सुका कारण प्रायः रातिको समयमा सवारीसाधन चलाउन कठिनाई हुने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सो अभियान थालेको हो ।
अभियानबाट दुर्घटनामा कमी आउने श्रेष्ठ बताउनुहुन्छ । सरकारले समर्थन मूल्य कायम गरेपछि अहिले यहाँका उखु किसान धमाधम उखु बिक्री गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ ०८:४०