काठमाडौं- मंगलबार नियुक्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू म्यानपावर व्यवसायमा संलग्न नरहेको बताएका छन् ।
मन्त्री नियुक्त भएलगत्तै सञ्चारमाध्यममा अर्याल म्यानपावर व्यवसायी र रेमिट्यान्स सञ्चालक भएको समाचार सम्प्रेषण भएपछि उनले आफू म्यानपावर व्यवसायमा संलग्न नरहेको प्रस्टीकरण दिएका हुन् ।
अर्यालले श्रममन्त्री नियुक्त भएको सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै–थोरै संलग्नता रहे पनि म्यानपावर व्यवसायमा कहिले पनि नभएको उल्लेख गरेका छन् । उनले आफू १५ भन्दा बढी व्यवसायमा संलग्न रहेको बताएका छन् ।
‘साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौं है भनेर ‘इन्टरनेसनल मार्केटिङ डाइरेक्टर’को पद लेखिदिए, तर हटाइदिन भुले । म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता । ...भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो ?,’ मन्त्री अर्यालले कुनै गलत काम गरेर एक पैसापनि आर्जन नगरेको भन्दै कहिले कुन कुन गैरकानुनी काम भए त्यो पत्ता लगाउन चुनौती दिएका छन् ।
मन्त्री अर्याल नयाँ बानेश्वरस्थित सृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिस प्रालिको अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको उक्त कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख थियो । साथै, उक्त कम्पनीको साझेदारका रूपमा मन्त्री अर्यालकै ट्राभल एन्ड टुर्स कम्पनी रहेको उल्लेख थियो । तर, चौतर्फी आलोचना भएपछि कम्पनीको वेबसाइट नखुल्ने बनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ ०९:१९