काठमाडाैं - प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसदहरुकाे निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले पूर्वसांसदहरु मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
सभाले उनीहरुको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारणसमेत गरेको हाे ।
श्रेष्ठ नेपाली कांग्रेसकातर्फबाट विसं २०४८ मा गोरखाबाट एवं विसं २०५६ मा राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो । श्रेष्ठको गत कात्तिक ६ गते ९४ वर्षको उमेरमा निधन भएको थियो ।
त्यस्तै नेकपा (माओवादी) बाट विसं २०६४ मा ओखलढुङ्गा–२ बाट निर्वाचित ढुङ्गेलको ५३ वर्षको उमेरमा कात्तिक २२ गते निधन भएको थियो । कांग्रेसबाट विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित आलेको ७२ वर्षको उमेरमा गत मङ्सिर ९ गते निधन भएको थियो ।
बैठकले उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते बिहान ११ बजे बस्नेछ ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १७:१९