सप्तरी - शीतलहरबाट मृत्यु भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलका देवु सदाको परिवारलाई आज गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । गाउँपालिकाको कार्यालयबाट ५० किलो चामल, पाँचकिलो मुरही, पाँचकिलो दाल, पाँचकिलो नुन, साढे दुई किलो खानेतेल, दुई थान कम्बल र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाकाअध्यक्ष अरुणकुमार मण्डल, वडा नं ४ का वडाध्यक्ष मुनिलाल मुखिया, वडा नं ५ का वडाध्यक्ष ललनप्रसाद राउतले सो सामग्रीहरू हस्तान्तरण गर्नुभएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । सो अवसरमा जनस्वास्थ्य निरीक्षक दीपक मण्डल, राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।
अशिक्षा, चेतनाको कमी, बेरोजगारी, मादक पदार्थ सेवनको कुलत र गरिबीका कारण जाडोको कहर खेप्दै आएको मुसहर बस्तीमा न्यानो कपडाको आवश्यकता रहेको गाउँलेहरू बताएका छन् । गत बिहीबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको विपद् व्यवस्थापन अधिकृत झाले बताए ।
यसैबीच निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सप्तरीले आज आफ्नो ३२ औँ स्थापना दिवस फलफूल वितरण गरी मनाएको छ । प्याब्सनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामी एवं पोषण गृहका बालबालिकालाई फलफूल वितरण गरेको हो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिलकुमार झाले देशको शिक्षाको विकासमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको बताए । झाले प्याब्सनप्रति समाजको अपेक्षा र समाजप्रति प्याब्सनको उत्तरदायीलाई पनि स्मरण गरेर काम गर्नुपर्ने बताए ।
प्याब्सन सप्तरीका अध्यक्ष अरुणकुमार देवले हरेक विद्यार्थीमा केही न केही क्षमता हुने हुँदा त्यसको पहिचान गरी सृजनशीलतामा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ ०८:२७