धनकुटा - सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्कको पर्याप्त बजेट अभावमा काम पूरा हुन ढिलाइ भएको छ ।
अमेरिकी टेलिभिजन च्यानल सिएनएनले घुम्नैपर्ने विश्वको १२औँ गन्तव्य सूचीमा राखेको यस स्थानमा आर्थिक वर्ष २०७५/७६ मा काम सुुरु गरिएको थियो । साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माण हुन गइरहेको उक्त पार्कमा हालसम्म प्रदेश सरकारको रु एक करोड ४४ लाख खर्च भएको छ ।
तर निर्माण सुरु भएको तीन वर्ष पूरा भइसक्दा पनि काम पूरा नहुँदा निर्माणाधीन उक्त पार्क आधा बनेर अलपत्र अवस्थामा रहेको छ ।पार्कमा एक सभाहल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि विभिन्न स्तम्भ बनाइएको छ । स्थानीय ग्रामीण जनता माविको छ रोपनी जमिनमा पालिका र विद्यालयले यसबाट आउने आम्दानीमा साझेदार गर्नेगरी सो पार्क बन्न लागेको हो ।
जिल्लाकै एक प्रमुख पर्यटकीय क्षेत्रमा निर्माणाधीन पार्कको काम अधुरो रहँदा यस क्षेत्रको पर्यटन प्रभावित भएको विद्यालयका प्राधानाध्यापक टङ्क भुजेलले जानकारी दिए । “विश्वको घुम्नैपर्ने नाम्जेको मुख्य सूचक नै तयार नहुँदा केही खल्लो भएको छ”, प्रअ भुजेलले भने।
स्थानीयस्तरमा भएको केही विवादका कारण पार्क निर्माणमा ढिलाइ भए पनि अब उक्त विवादको समधान भइसकेकाले कामले गति लिने भुजेलले जानकारी दिए । सो क्षेत्रको बृहत् विकास गर्न पार्कका लागि रु तीन करोड ७७ लाख ८७ हजारसहित अन्य बौद्ध गुम्बा, अतिथि गृह र शौचालय गरी आठ करोडको डिपिआर रहेको छ ।
पार्क निर्माणका लागिमात्र हालसम्म प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ मा ७८ लाख ८६ हजार र आव २०७७/७८ मा ६५ लाख ३० हजार खर्च भएको छ । त्यसपछि भने प्रदेश सरकारले पार्क पूरा गर्ने पर्याप्त रकम विनियोजन नगरेको गाउँपालिकाका सबइञ्जिनीयर विश्वेश्र राईले जानकारी दिए ।
आव २०७८/७९ मा रु ७५ लाखको काम हुन नसकी रकम फिर्ता गएको थियो भने चालु आव २०७९÷८० मा रु १० लाख विनियोजन भएको राईले जानकारी दिए । समयमा काम पूरा गर्न पर्याप्त बजेट नआएकाले पार्क निर्माण पूरा हुन नसकेको पालिका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले जानकारी दिए ।
निर्माण पूरा भइनसकी जीर्ण देखिएको पार्कको सम्वद्र्धन गर्न तत्काल पार्क सञ्चालक समिति गठन गरेर बाँकी काम पूरा गरिने राईले जानकारी दिए । जिल्लाको क्षेत्र नं ‘१’ मा पर्ने उक्त क्षेत्रबाट प्रदेशसभामा पुनःनिर्वाचित सदस्य निरन राईले अब बाँकी काम पूरा गर्न पहल गरिने जानकारी दिए ।
पूर्वकै प्रमुख पर्यटकीय नगरी भेडेटारको दुई किमी दक्षिण–पूर्वमा रहेको नाम्जे गाउँ मगर संस्कृति र घरबास (होमस्टे)ले परिचित छ ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ ०७:४१