काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले सोमबार उपप्रधानमन्त्रीको हैसियतमा गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्रालय छिरे लगतै लामिछानेले ४ वर्ष पुरानो निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको फाइल खोल्ने निर्णय गरेका हुन् ।
साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अपराधी अझै पत्ता लाग्न सकेकाे छैन । प्रहरीले यो घटना अझै अनुसन्धानका क्रममा रहेको बताउँदै आएको छ ।
मन्त्रीको कुर्सी पाए लगतै लामिछानेले मन्त्रालयका कर्मचारीलाई भने, ‘निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने गरी, अलि तदारुकता देखाउने गरी, त्यसमा के भइरहेको छ भन्ने अपडेटसहित न्यायका लागि अधिकतम पहल गर्ने पहिलो निर्णय बनाउँ ।’
सञ्चारकर्मी हुँदादेखि नै निर्मला न्यायको विषय उठाइरहेको हुँदा आफ्नो पहिलो निर्णय निर्मलाका निम्ति न्याय भएको उनले सुनाए । आमनागरिकले गृह प्रशासनसँग जोडिएका विषयमा अत्याधिक सास्ती भोगेको देखेको हुँदा ती समस्या समाधानका लागि आफूले गृहमन्त्री पद रोजेको लामिछानेले सुनाए ।
मन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। स्वतन्त्र भएर त्याे विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९ ०९:१५