काठमाडाैं - काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै गर्ने बताएका छन् ।
बिहीबार काठमाडाैं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले महानगरले काठमाडाैं उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताएका हुन् ।
उनले उपत्यकाभित्र रहेका डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताएका छन् ।डबलीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने पनि उनले बताए ।
उनले भने ‘काठमाण्डौ महानगरपालिकाले सप्ताहव्यापी महानगर दिवस मनाउँदै गर्दा विभिन्न कुरालाई एउटा सिम्बोलको रूपमा देखाउन चाहेको छ ।
उदाहरणको रूपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेका छौँ । उपत्यकाभरि र काठमाण्डौ महानगरभरि रहेका डबलीमा साङ्गीतिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन हुने गर्दथ्यो । त्यसलाई फेरि पुनर्जागरण गर्नुपर्छ ।’
मेयर शाहले संस्कृतिलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताए । मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई पनि सिकाउँदै जानुपर्नेमा उनले जोड दिएका छन् ।
शाहले काठमाण्डौ महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताए । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रमा छिमेकी पालिका र सबै तहको सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताए ।
काठमाडाैं महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने उनले उल्लेख गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ १७:५९