नवलपरासी पश्चिम - अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकाभित्र कार्यरत कर्मचारी, नागरिक समाज,पत्रकार र सुरक्षा निकाय लगायत पालिका स्थित सरोकारवाला को सहभागितामा मंगलबार भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्न विषयक अन्तरक्रिया कार्यक्रम समापन गरेको हो ।
प्रतापपुर गाउँपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको उपस्थितिमा भएको अन्तरक्रियामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल शाखा अधिकृत बाबुराम पौडेलले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार तथा आयोगको कार्यालयबाट सम्पादन भएका काम कार्यवाही तथा भ्रष्टाचार न्यूनीकरण एवं सुशासन प्रवद्र्नका सन्दर्भमा भएका गतिविधिको प्रगतिबारे जानकारी गराएका थिए ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको राज्यको नीतिअनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवद्र्नात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको उनले बताए ।

अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय बुटवलका उपसचिव रामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव अधिकारीले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवद्र्नमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सहभागीहरुका प्रश्नको उत्तर तथा विधिको शासन र सुशासन बारे जनप्रतिनिधि र सरोकारवालाको भुमिका बारे प्रकाश गरेका छन् ।
प्रतापपुर गाउँपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले यो कार्यक्रमले जनप्रतिनिधिको क्षमता विकास गर्न र स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
घिमिरेले भ्रष्टाचार नियन्त्रणमा सबै क्षेत्रको सार्थक सहकार्य र समन्वय हुनुपर्ने बताउँदै प्रतापपुर गाउँपालिकालाई भ्रष्टाचारमुक्त र सदाचारयुक्त बनाउने अभियानमा आफूहरू लागि परेको बताउनुभयो । बार्षिक कार्यक्रम अनुसार भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्भन सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । कार्यक्रममा भ्रष्टाचार भनेको के हो ? भ्रष्टाचार नियन्त्रणमा पालिका जनप्रतिनिधि, कर्मचारी,नागरिक समाज,पत्रकार र सुरक्षा निकायको भुमिका बारे प्रकाश पारिएकाको थियोे ।
उक्त कार्यक्रम प्रतापपुर गाउँपालिकाको वडा नं ९ स्थित त्रिभुवन क्याम्पस बेलाटारीको गांधीहलमा सम्पन्न भएको थियोे भने कार्यक्रम संचालन आयोजक कार्यालयका नारायण प्रसाद न्यौपानेले गरेका थिए ।