काठमाडाैं - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक हिंसापीडितलाई सहजरुपमा उजुरी गर्नका लागि प्रत्येक पालिका र चोकचोकमा हेल्पलाइन सेवा ११४५ सम्बन्धी प्रसारप्रचारको व्यवस्था मिलाउन महिला आयोगलाई आग्रह गरेका छन् ।
लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोगले ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ स्थापना गरी सञ्चालनमा ल्याएको पाँच वर्ष पुगेको अवसरमा हेल्पलाइनको प्रचारमा अझ ध्यान पुर्याउनु आवश्यक भएकाे बताएका हुन् ।
आयोजित कार्यक्रममा उनले लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेकै बेला महिलामाथि भएका घटनाले समाजलाई चुनौती दिएको बताए ।
अध्यक्ष तिमिल्सिनाले भने, “पीडितलाई घटनास्थलमै पुगेर सम्मानका साथ पुनःस्थापित गर्न सक्नुपर्छ, सभ्य समाजको कलङ्कका रुपमा रहेको लैङ्गिक हिंसा आफँैबाट न्यूनीकरण गर्न प्रभावकारी प्रयासको थालनी हुनुपर्छ ।”
आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिला अधिकारको सशक्तिकरणमा लाग्नुहुने विभिन्न सहयोगी सङ्घसस्थाले समाजका लैङ्गिक हिंसामा पीडितलाई सामाजिक पुनःस्थापना र पारिवारीक पुनःमिलनमा सहयोग पुर्याएको बताए ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव महानिरिक्षक किरण राणा, मिरा चौधरी, किरण बज्रचार्य र दुर्गा सिंह, महिला तथा बालबालिका एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (पाटन अस्पातालका डा सिर्जना कुँवर, कोशिस नेपाल, आयोग हेल्पलाइनका कविता खड्का, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी निरीक्षक सपना खड्कालाई लैङ्गिक हिंसा रोकथाम नियन्त्रण कार्यमा योगदान पुर्याएवापत सम्मान गरियो । कार्यक्रममा लैङ्गिक हिंसा पीडित सीता सुवेदीलाई पनि सम्मान र पुरस्कार प्रदान गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ १८:१९