काठमाडौं- सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्काेस्थित ‘फ्लाईओभर’ निर्माणका लागि तयारी अघि बढाइएको छ ।
अहिलेसम्म डिजाइको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन सुरु गरिएको हाे ।
भौतिक काम एक सातादेखि १० दिनभित्रमा सुरु गर्ने तयारी गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) सौरभ बज्राचार्यले बताए ।
उनका अनुसार केन्द्रले मिल्नेसम्मको काम बाहिर गरी यहाँ ल्याएर जडान गर्ने योजना बनाएको छ । बिमलगायत संरचना अन्यत्र बनाएर यहाँ ल्याएर जडान गरिनेछ ।
यो खण्डमा सवारी साधनको चाप धेरै रहेकाले पहिले सवारी साधनलाई अवरोध हुने काम सेकेपछि अन्य काम गर्ने योजना बनाइएको छ । प्रवक्ता बज्राचार्यले भने, “पहिले अरु ठाउँमा बनाउन मिल्ने कुरा बनाइसकेपछि मात्रै खन्ने काम हुनेछ ।”
महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्माणलाई लक्ष्य गरी आजदेखि सोही सडकमै सवारीसाधनको व्यवस्थापन सुरु गरिसकेको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाईओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाईओभर पुगिनेछ । त्यतातर्फ दुई सय ८० मिटर लामो ‘र्याम’ हुने र सातादोबाटोतर्फ झर्न एक सय ७५ मिटर लम्बाइको ‘र्याम’ हुने बताइएको छ ।
‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाईओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन सिधै चल्ने बताइएको छ ।
यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाईओभर’ निर्माण गरिने सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोगमा नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत पनि एउटा ‘फ्लाईओभर’ निर्माण भएको छ ।
जम्मा २० महिनामा सम्पन्न गर्ने गरी यो योजना निर्माणका लागि गत फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो । यसको बजेट रु १७ करोड ६८ लाखमा रहेको छ । विसं २०८० सम्ममा निर्माण सकेर ‘फ्लाईओभर’ सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ १७:३८