मोरङ - मोरङको कटहरी गाउँपालिका –१ स्थित फलफूल तथा कृषि थोक बजारमा आज लागेको एक दिने रोजगार मेलामा पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित भएको छ।
मेलामा सहभागी मोरङ, सुनसरी, झापामा सञ्चालित विभिन्न उद्योगका लागि उक्त रोजगार उपलव्ध हुने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ कार्यकारी निर्देशक श्याम भण्डारीले बताएका छन् ।
निजहरुलाई नेपाल सरकारले तोकेको पारिश्रमिकमा बिभिन्न जुटमिल ,रियायन्स स्पिनियङ्ग,तारे होटल,विद्युतीय, खाद्यान्न उद्योग लगायतकामा रोजगार उपलव्ध हुने जनाइएको छ।
यस क्षेत्रमा सञ्चालित जुट उद्योगहरुलाई विइङ्गवर, स्पिनर, कोप्यान्डर, ड्राइङ्ग र अपरेटर लगायतका लागि आवश्यक जनशक्त्ति, निर्माण व्यवसायीलाई दुई हजार, तार होटललाई सात सय, जुट उद्योगलाई चार हजार, विद्युतीय सामाग्री उद्योग, कृषि, खाद्यान्न उद्योगहरुलाई दक्ष एवं अदक्ष एवं सुरक्षा गार्ड गरी १० हजार जनशक्त्तिको आवश्यक रहेको निर्देशक भण्डारीले बताए ।
उद्योगहरुलाई आवश्यक पर्ने जनशक्तिको माग अनुसार तालीम, शिपको व्यवस्था कटहरी गाउँपालिकाले उपलव्ध गराउने रोजगार संयोजक रामकुमार राजवंशीले बताएका छन् ।
कटहरी गाउँपालिका,नेपाल उद्योग बाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्त्त रुपमा आज आयोजित एक दिने मेलामा पालिकाको अध्यक्ष देवराज चौधरीले वैदेशिक रोजगारबाट फर्केका, उच्च शिक्षा अध्ययन गरेका दक्ष तथा अदक्ष युवायुवतीहरुलाई स्वदेशमा रोजगारीको आकर्षण जगाउन मेलाको आयोजना गरिएको बताए ।
उनले पालिकाले उद्योगको आवश्यक्ता अनुसारको शिप तथा तथा तालीमको व्यवस्थापन गर्ने जानकारी दिएका छन्
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १९:५०