काठमाडौं- उपत्यकाको फोहोर व्यवस्थापन कार्य आजदेखि फेरि प्रभावित हुने भएको छ । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने बाटो मर्मतका लागि आगामी एक हप्ता उपत्यकाको फोहोर व्यवस्थापन कार्य रोकिने भएको हो ।
काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गरी यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक मर्मतका लागि फोहोर व्यवस्थापन कार्य एक हप्ता रोकिने जानकारी दिएको छ ।
सिसडोलदेखि बञ्चरेडाँडासम्म करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता संकलनको काम नहुने महानगरले जनाएको छ ।सहरी विकास मन्त्रालयले फोहोरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै कामपालाई केही दिन फोहोरको गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागेको सूचनामा उल्लेख छ ।
कामपा वातावरण विभाग प्रमुख सरिता राईले आज (बिहीबार)देखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने जानकारी दिइन् । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।
कामपाले आगामी एक हप्ता आ–आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न सूचनामार्फत अपिल गरेको छ । महानगरले अपिल गरे पनि सडक र चोक–चोकमा फेरि फोहोर थुप्रिने कार्य नहुने सम्भावना देखिँदैन । फोहोर व्यवस्थापन रोकिएसँगै उपत्यकावासीले अबको केही हप्ता दुर्गन्धको सामना गर्नुपर्ने भएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लैजाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।
ल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल्ड साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।
काठमाडौं महानगरले यही साउन १ गतेदेखि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने कार्य सुरु गरेको छ । महानगरले कुहिने र नकुहिने फोहोर संकलन गर्ने तालिकासमेत सार्वजनिक गरेको छ । स्रोतबाटै फोहोरको वर्गीकरण गर्ने अभियान सुरु गरेको महानगरले मिसाइएको फोहोर गाडीसम्म ल्याउनेलाई जरिवाना गर्नेसमेत जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ ०८:२७