काठमाडाैं - प्रविधि नियन्त्रित मिडिया नारा (Journalism Under Digital Siege) सहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । नामिबियामा संसारका सबै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाईउत्साहित र उत्प्रेरित गर्न घोषणापत्र जारी गरि मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइएकाे हाे ।
संसारभर मे ३लाई प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ । प्रत्येक वर्ष फरक फरक नाराका साथ यो दिवस मनाउने क्रममा योपटक ‘प्रविधि नियन्त्रित मिडिया -Journalism Under Digital Siege ’ भन्ने नारा तय गरिएको छ ।
सन् १९९१ मा नामिबियाको विण्डहकमा भएको एउटा महत्वपूर्ण सम्मेलनले सधै संसारका सबै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई उत्साहित र उत्प्रेरित गर्ने गरी एउटा घोषणापत्र जारी गर्यो । त्यो दिन अंगजी क्यालेण्डर अनुसारको मे ३ तारिक थियो ।
वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा तयार पारिएको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो । त्यही घोषणापत्र जारी भएको दिन अर्थात मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइन थालिएको हो ।
प्रेस स्वतन्त्रताका पक्षमा लडाई लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तरक्रियाहरू गर्ने गरिन्छ ।
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एबं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ ।
नेपालमा पनि पत्रकार महासंघको आयोजनामा आज देशभर यस्ता चर्चा परिचर्चाहरु हुँदैछन् । काठमाडौंमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्दागर्दै मृत्युवरण गर्न पुगेका पत्रकारहरुको स्मरणमा बनाइएको स्मारकमा माल्यार्पण गर्दै वर्षभरिको प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षा गर्दै अब कसरी अगाडि बढ्ने भन्ने बारेमा निष्कर्षको खोजी गर्ने गरी कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्न सकिने अवस्था छैन । भौतिक हमला र पेशागत असुरक्षा दुबैले पत्रकारहरुलाई त्रासमा राखेको अवस्था छ ।
नेपाल पत्रकार महासंघ सञ्चारको तथ्यांकका अनुसार
यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएका छन् भने प्रेस स्वतन्त्रता हननका ७५ वटा घटनाहरु भएको देखिन्छ । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६वटा हननका घटना भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने यसपटक हननका घटनाहरु भएको पाइएको छैन ।
प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुुँदा २७२ जना सञ्चारकर्मी र ९ सञ्चारगृह पीडित भएका छन् । २७२ मध्य ३३ जना महिलाहरु पीडित भएका छन् ।प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा भएको देखिएकाे छ । पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरूअघिल्लो वर्षमा ४५ वटा थिए भने ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र ३ वटा संचारसंस्था पीडित बनेका थिए । ५ सय ८४ पत्रकारमध्य ७७ पत्रकारहरू महिला रहेका छन् ।
पत्रकार महासंघको अभिलेखअनुसार यो वर्ष ३ जना पत्रकार गिरफ्तारीमा परेका छन्। आक्रमण, दुव्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन् । त्यस्तै पेशागत असुरक्षाको मार ३१ जना पत्रकारले खेपेका छन् ।