काठमाडौं– कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका काठमाडौं उपत्यकावासीले यस वर्ष भने उत्साहपूर्वक यस चाडलाई मनाएका छन् । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमानढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वर्षको होलीमा भने खाचाखच भरिएको थियो ।
वसन्तपुर दरबार क्षेत्रमा होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता रहेको थियो ।वसन्तपुर क्षेत्रमा आएका सर्वसाधरणले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी होली पर्व मनाएका छन् । वसन्तपुरमा मात्रै होइन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उत्साहपूर्वक होली पर्व मनाएको छ ।
दुर्घटनारहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेसँगै मर्यादितरूपमा पर्व मनाइएको छ । यसअघिको जस्तो एक हप्ताअघिदेखि बाटोमा हिँड्ने नागरिकले खेप्नुपर्ने सास्ती भने यस वर्ष सामना गर्नु नपरेको वसन्तपुरमा होली खेल्न आएका सर्वसाधरणले बताएका छन् ।
यस पर्वको मौका छोपी उच्छृंखल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्नेलाई कालीमाटी चोक, त्रिपुरेश्वर चोक, कलंकीलगायत सहरका मुख्य स्थानमा सवारीलाइ चेक गरी प्रहरीले कारबाही गरेको छ ।
होेली मर्यादित बन्दै
केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो । सामान्यतया यो वर्ष अरुको इच्छाविपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू–आफूमै रमाए ।
घरपरिवार एवं छरछिमेकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा बिहीबार अपेक्षाकृत शान्त रूपमा मनाइएको छ ।
केही वर्षअघिसम्म फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने, पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । कोरोनाको जोखिम कायमै रहेकाले प्रशासनले शान्त रूपमा पर्व मनाउन आह्वान गरेको थियो । सडकमा फागु खेल्ने प्रायः बालबालिका, युवायुवती थिए ।
बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य रहेको थियो ।विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो ।
यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाए पनि फोहर पानीले दुव्र्यवहार गरेको नदेखिएको प्रहरीले जनाएको छ ।पहाडी जिल्लामा बिहीबार होली पर्व मनाइएको छ । तराईमा शुक्रबार मनाइँदै छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गा“जा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।