
काठमाडौं– नेपाल पञ्चाङ निर्णायक समितिले आगामी वर्षको पात्रोलाई स्वीकृति दिएको छ । समितिले १४ वटा पात्रोलाई स्वीकृति दिने निर्णय गरेको हो । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।
समितिबाट स्वीकृति पाएका पात्रो यही १५ माघदेखि बजारमा आउने बताइएको छ । अन्य वर्षहरूमा पुस अन्तिम साता नै पात्रो प्रकाशन भइसक्ने गरे पनि यसवर्ष केही ढिलाइ भएको छ । गत वर्षदेखि कोरोना महामारीका कारण पञ्चाङकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले काममा ढिलाइ भएर प्रकाशन ढिला हुन थालेको समितिले जनाएको छ ।
समितिले तयार पारेको पात्रोअनुसार ०७९ सालको दशैंको टीका १९ असोजमा परेको छ । समितिका सदस्य सचिव ढुंगेलका अनुसार २६ भदौबाट ९ असोजसम्म सोह्रश्राद्ध, १० असोजमा घटस्थापना, १६ असोजमा, १७ मा महाष्टमी, मा महानवमी र १९ असोजमा विजयादशमी परेको छ । त्यस्तै, १० कात्तिकमा भाइटीका परेको छ । ढुंगेलका अनुसार ६ कात्तिकमा कागतिहार, ७ मा कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । ८ कात्तिकमा गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । ९ कात्तिकमा गोबद्र्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।
आगामी वर्षमा विवाह र ब्रतबन्धको लगनैलगन जुरेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष विवाहका ५६ वटा लगन जुरेको छ । वैशाख र जेठ महीनामा त एकदिन बिराएर विवाहको लगन जुरेको ढुंगेलले बताए । उनका अनुसार वैशाखमा मात्रै विवाहको १७ वटा लगन जुरेको छ । त्यस्तै, जेठमा ११ दिन, असारमा ५ दिन, मंसीरमा ८ दिन, माघमा ६ दिन, फागुनमा ९ दिन विवाहको लगन छ । बैशाखमा व्रतबन्धको दुईवटा लगन छ । त्यस्तै, जेठमा २, असारमा २, मंसिरमा २, माघमा २, फागुनमा २ र चैतमा एक दिन ब्रतबन्धको लागि लगन रहेको समितिले जनाएको छ ।
२० पुस ०७७ को मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रूपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।
गत वर्षदेखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । यस वर्ष भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो । तर, भित्तेपात्रो प्रकाशन गर्नेहरूले समितिसँग समन्वय गरेका छैनन् ।
सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । अन्य भित्तेपात्रो भने विभाग र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ ।