
काठमाडौं (प्रसं)– स्थानीय प्रशासनले सञ्चालनको अनुमति दिएपछि काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको छ । बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को समन्वयमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेपछि महानगरपालिकाले विद्यालय खुलाउने तयारी गरेको हो ।
स्मार्ट–लकडाउन कार्यविधि अनुसार डिसिसिएमसीले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको हो । महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने हप्तादेखि खोल्ने तयारी भइरहेको जानकारी दिए । ‘प्रशासन कार्यलयले स्थानीयले विद्यालय खोल्न सक्ने भनेको छ । त्यसैले शिक्षा समितिका पदाधिकारीसँग बसेर छलफल गरिरहेका छौँ ।
आगामी हप्तादेखि खोल्ने गरी प्रयास गरिरहेका छौँ,’ उनले भने । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो । स्मार्ट लकडाउन कार्यविधिअनुसार स्थानीय प्रशासनले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । उनले भने, ‘काठमाडौं उपत्यकाका अन्य स्थनीय तहजस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक संख्या छ उनीहरूलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।’
रासस