
मोरङ– प्रदेश नं १ मा प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एमालेका १० जना सदस्यले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा (लिम्बू) पदमकुमारी गुरुङ, सुनिताकुमारी चौधरी, उपेन्द्रप्रसाद घिमिरे र कृष्णकुमारी राई रहेका छन् ।
सनाखत कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तामा ठूलो समूह उपस्थित थियो । सनाखत कार्य यही भदौ २२ गते ५ बजेसम्म हुने र त्यससम्बन्धी सम्पूर्ण कागजात केन्द्रीय निर्वाचन आयोगमा पठाउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सदस्यले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले बुधबार प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा(एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका हुन् ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी दिएका थिए । उनले हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आवद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको बताए । कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई ह्विप उल्लंघन गरेको आरोपमा पार्टीले कारवाही गरी पदमुक्त गरेको थियो ।
हाल कायम रहेका १६ मध्ये तीन जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको संख्या १३ मा झरेको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली कांगे्रसका छ, राप्रपाका एक सदस्य छन् भने नवगठित नेकपा (एकीकृत समाजवादी)का तीन सदस्य भएका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न २२ भदौसम्मको समय दिएको छ ।
नेकपा (एकीकृत समाजवादी) रोज्नेमा मुगुबाट निर्वाचित शाही एमालेको केन्द्रीय सदस्य हुन् । रुकुम पश्चिमकी वली प्रदेशसभामा सामाजिक विकास समितिको अध्यक्ष र निर्वाचन आयोगमा दर्ता हुँदा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य हुन् ।
त्यस्तै प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भूमिहारिन, रमेशप्रसाद कुर्मी र गौरीनारायण साह छन् । बुधबार १० जनाले सनातखत गरेको र अन्यले बिहीबार पनि सनाखत गर्ने सांसद परमेश्वर साहले बताए । निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधिलाई २२ भदौसम्मको समय तोकेको छ ।