
वाग्मती– वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा नभएको बताएकी छन् । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले आफू कम्युनिस्ट एकताको पक्षमा रहेकोले पार्टी विभाजन आफुलाई स्वीकार्य नहुने उनको भनाई थियो । उनले भनिन्, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा लागेदेखि नै कम्युनिस्ट एकताका निम्ति आवाज उठाउँदै आएको छुँ ।’ उनले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नभएकाले अब पनि नहुने बताइन् । उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि हानी हुने हुनाले यस्तो काम नगर्न आग्रह गरिन् । उनले आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउने आश्वासन दिइन् ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरूप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेत्री शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताए । उनले एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बैठकमा प्रदेशसभा सदस्यले सरकारले र पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए ।