
काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले नेपालको अपांगता आन्दोलन अन्धविश्वासलाई चिरेर अधिकारको युगमा प्रवेश गरेको बताएकी छन् । राष्ट्रिय अपांग महासंघले आफ्नो २८औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष दाहालले यस्तो बताएकी हुन् ।
दाहालले भनिन् ‘कुनै समय थियो, कुनै परिवारमा अपांगता भएका व्यक्ति जन्मियो भने उसका बा आमाले गरेको पापको नतिजाको रूपमा व्याख्या गरिन्थ्यो । त्यो परिवारलाई नै हेलाको दृष्टिले हेरिन्थ्यो । तर, अहिले समय त्यस्तो छैन । अहिले हामी अपांगता भएका व्यक्तिको अधिकारका विषयमा बहस गरिरहेका छौँ ।’
उपाध्यक्ष दहालले अन्धविश्वासको त्यो समयदेखि आजसम्म अपांगता अधिकारका लागि निरन्तर खटिएका अधिकारकर्मीहरूलाई धन्यवाद दिँदै यो सफलताका लागि बधाइसमेत दिए । उनले अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि बनेका कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।
अपांगता भएका व्यक्तिहरूको हकहितलाई मध्यनजर गर्दै विभिन्न समयमा थुप्रै राम्रा कानुनहरू निर्माण भएको भन्दै उनले बनेका कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन सके अपांगता भएका व्यक्तिहरूका धेरै समस्या समाधान हुने बताइन् ।
आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपाध्यक्ष दहालले अपांगमैत्री कानुन निर्माण र त्यसको कार्यान्वयनका लागि आफूले सधैं पहल गर्ने प्रतिबद्वतासमेत व्यक्त गरिन् ।
अपांगता भएका नागरिकका सवाल सबैको साझा सवाल भएको भन्दै उनले हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट आवाज उठाउनुपर्नेमा जोड दिइन् । दाहालले भनिन्, ‘अपांगता भएका व्यक्तिले भोग्नुपरेको समस्या, संकुचित भएको उनीहरूको अधिकार र आधारभूत सेवा सुविधा सबैको सवाल हो । अपांगता भएका व्यक्तिको अधिकारका लागि संसदले अझै परिष्कृत कानुन निर्माण गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
अपांगता भएका व्यक्तिले अझैं पनि शारीरिक र मानसिक रूपमा विभिन्न खालका हिंसा सहनुपरेको खबर सुन्दा दुःख लाग्ने भन्दै उनले परिवारबाटै यस्ता व्यक्तिहरूको स्याहार र सम्मानमा विशेष ख्याल गर्न आग्रह गरिन् । महामारीको समयमा अपांगता भएका व्यक्तिहरूले अन्य व्यक्तिले भन्दा बढी हिंसा र समस्या भोग्नु परेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले महासंघले प्रकाशन गरेको दुईवटा पुस्तक (अपांगता समावेशी स्थानीय विकास सहजीकरण पुस्तिका र क्षमता विकास सम्बन्धी तालिम सहजीकरण पुस्तिका) सार्वजनिक गरेकी थिइन् ।
यसैबीच स्थापना दिवसको अवसरमा राष्ट्रिय अपांग महासंघले पूर्वअध्यक्षहरूलाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेहरूमा डा.वीरेन्द्रराज पोखरेल, दीपक कोइराला, निर्वतमान अध्यक्ष सुदर्शन सुवेदी, संस्थापक अध्यक्ष निर्मल देवकोटाकी पत्नी लक्ष्मी देवकोटा, पूर्वअध्यक्ष सुशीला पौडेल, पूर्वाध्यक्ष स्वर्गीय मुनिश्वर पाण्डेकी पत्नी निर्मला धिताललगायत रहेकी छन् ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघका पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, निर्वतमान अध्यक्ष सुदर्शन सुवेदी, महासंघका संघीय अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल लगायतले मन्तव्य राखेका थिए ।