
काठमाडौं– करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा उत्पन्न भएको समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले सरकारलाई गुहारेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उपत्यकाको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् । सोमबार भएको भेटमा महानगर प्रमुख शाक्यले जतिसक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिन आग्रह गरे ।
प्रधानमन्त्री देउवालाई भेट्न प्रमुख शाक्य, उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । प्रमुख शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए । सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि उनले बताए । ‘सिसडोलसम्म फोहोर बोकेका गाडी पुर्याउन सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्यौँ । उहाँले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभयो’ मेयर शाक्यले भने ।
महागरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोटको बन्चरे डाँडामा निर्माणाधीने ल्याण्डफिल साइट छिटो सक्न सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । हाल उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन गर्ने गरिएको छ । तीन वर्षका लागि भनेर सिसडोलमा फोहोर व्यवस्थापनको काम थालिए पनि १४ वर्षभन्दा लामो समयदेखि त्यही फोहोर व्यवस्थापन गरिँदै आएको छ । पछिल्लो समय सिसडोल जाने सडक बिग्रिएकाले फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको हो ।
महानगरपालिकाको टोलीले प्रधानमन्त्रीलाई बन्चरेडाँडाको स्यानिटरी ल्याण्डफिल साइट हालसम्म पनि निर्माण नसकिएको र त्यहाँ पुग्ने सडक पनि नबनेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनीहरूले बन्चरेडाँडाको ल्याण्डफिल्ड साइटको काम चाँडै सक्नका लागि सम्बन्धित निकायसँग सहजीकरण गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । सामान्य अवस्थामा फोहोर बोकेका १५० वटा ट्रक सिसडोल ल्याण्डफिल साइटमा दैनिक पुग्ने गरेकामा हिजोआज वर्षाका कारण सडक बिग्रिँदा ५० वटा ट्रक मात्र जाने गरेका छन् । जसले गर्दा उपत्यकाका चोक र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।
काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको थियो । सामान्य समयमा काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्ने गरेको थियो । ललितपुर महानगर क्षेत्रबाट १३०, गोकर्णेश्वर नगरबाट दैनिक ६०, नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको तथ्यांक छ ।
चन्द्रागिरि, महालक्ष्मी र मध्यपुरथिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । शंकरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । उपत्यकाका महानगरपालिका र नगरपालिकाबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगर क्षेत्रको फोहोर पनि सिसडोल ल्यान्डफिल साइटमा आउने गरेको छ । तर, अहिले सबैतिर फोहोर उठाउने काम अवरुद्ध भएको छ ।
महानगर अघि थुपारियो फोहोर
तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरूले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी सहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् । जसका कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरूले सडक किनारमा फालेका छन् । सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ ।