
काठमाडौं– पशुपति क्षेत्र विकास कोषका नाममा रहेको विभिन्न स्थानको जग्गा अतिक्रमण हुने क्रम रोकिएको छैन । काठमाडौं महानगरपालिकासहित अन्य स्थानीय तहमा कोषको नाममा रहेको जग्गा सुकुम्बासीका नाममा विभिन्न व्यक्तिले अतिक्रमण गर्ने क्रम जारी रहेको हो । कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको कोषको जग्गा अतिक्रमणको चपेटामा परेको छ । त्यहाँ रहेको कोषको ५३४ रोपनी जग्गा सुकुम्बासीको नामबाट मिच्ने क्रम बढेको हो ।
कोषले जग्गा संरक्षणको लागि उचित प्रवन्ध गर्न नसक्दा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको स्थानीयबासीले बताएका छन् । स्थँनीयबासी महेन्द्र भट्टराईका अनुसार पछिल्लो एकमहिनामा कोषको जग्गामा १० वटाभन्दा बढी टहरा थप्ने प्रयास गरिएको थियो । उनले बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्नेक्रम नरोकिएको बताए । बस्तीका बीचमा धेरै जग्गा खाली भएपछि सुकुम्बासीका नाममा मिच्नेक्रम बढेको उनको भनाइ छ । यस वर्ष पनि सुकुम्बासीका नाममा करिब १० टहरा थप्न खोजिएको थियो । कोरोनाबाट बच्न सरकारले निषेधाज्ञा जारी गरेका बेला सुकुम्बासीका नाममा जग्गा हडप्न खोजेपछि कोषले हटाएको थियो ।
प्रधानाध्यापक भट्टराईले केही मानिस सुकुम्बासीका नाममा कोषको जग्गासँगै जोडिएको विद्यालयको जग्गा पनि हडप्न आएको बताए । कोषको जग्गा भने पटकपटक मिचिने गरेको देखिएको उनले सुनाए । कोषको जग्गाका बीचमा खहरे बग्ने गरेको छ । वर्षात्मा खहरे बढेर आउँदा वरिपरिको बस्तीमा समस्या हुन्छ । कोषले जग्गा व्यवस्थापन नगर्दा यस वरपरका स्थानीयवासीलाई समेत समस्या हुने गरेको छ ।
कोषको गोठाटारमा रहेको जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ । उक्त जग्गामा लामो समयदेखि सुकुम्बासीहरूको बसोबास रहेको छ । त्यसलाई हटाउन कोषले प्रयत्न गरे पनि सकेको छैन । कोषका उपनिर्देशक गौरीशंकर पराजुलीले ११ चैत ०७६ मा गोठाटारको जग्गामा सुकुम्बासीका नाममा बसोबास गर्नेलाई हटाउन गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरेको जानकारी दिएका छन् । सूचनामा दिइएको समयमा अतिक्रमण गरी बसेका नहटेपछि स्थलगतरूपमै कोषले माइकिङ गरेर छोडेर जान भनेको थियो । तर, उक्त क्षेत्रबाट हालसम्म सुकुम्बासीहरू हटेका छैनन् । कोरोना भाइरस संक्रमणको जोखिम भएकाले मानवीय संवेदनालाई ध्यानमा राखेर तत्काललाई बलपूवर्क नहटाइएको उपनिर्देशक पराजुलीको भनाइ छ । तर, कोषको जग्गा छाड्न दिइएको डेढ वर्ष बित्दा पनि सुकुम्बासीले जग्गा छाडेका छैनन् । कोषले सो जग्गालाई हालसाविक गरी प्रस्तावित गुरुयोजनामा विभिन्न संरचना निर्माणको योजना अघि सारेको छ । कोषका पूर्वसदस्य सचिव डा.प्रदीप ढकालले पशुपति हिन्दू विश्वविद्यालय, गौशाला, आयुर्वेद औषधालय, वृद्धाश्रम, उद्यानजस्ता संरचना गोठाटारको जग्गामा बनाउने सोच रहेको बताए ।
कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले कोषको जग्गामा ११ वटा पक्की घर र ४० वटा टहरा निर्माण भएको जानकारी दिए । ‘कोषले प्रस्ताव गरेको गुरुयोजना कार्यान्वयन गरेर जग्गा मिच्नेक्रम रोक्न सकिन्छ, गुरुयोजना लागू गर्नुअघि नापजाँच गरेर घेरा पर्खाल लगाउनुपर्छ, गत आर्थिक वर्षमा घेरा पर्खाल लगाउन बजेट विनियोजन गरिएको भए पनि कोरोना महामारीले सम्भव भएन, यस वर्ष आन्तरिक बजेट व्यवस्थापन गरेर पनि घेरा पर्खालको काम गरिनुपर्छ’, उनले भने ।