
काठमाडौं– गत १ असारमा आएको बाढीले क्षति पु¥याएको मेलम्ची आयोजना पुनर्निर्माणको काम अघि बढाइएको छ । आगामी चैतसम्ममा पुनः काठमाडौं उपत्यकामा मेलम्चीको पनि ल्याउने लक्ष्यसहित मेलम्ची आयोजना पुनर्निर्माणको काम अघि बढाउने तयारी गरिएको हो । आयोजनाले सुरुमा आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने तयारी गरेको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो ।
तर, बाढीले खानेपानी आयोजनामा कति क्षति भयो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाले क्षतिको मूल्यांकनका लागि ड्रोनको समेत प्रयोग गरेका थियो । तर, आयोजनास्थलसम्म पुग्न नसक्दा क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको हो ।आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । उनले भने, ‘अहिले हेडवर्क १०/१५ मिटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।’ चैतमा काठमाडौंमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले आँकलन छ । हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्छ भनी भन्न सकिने समितिले जनाएको छ ।
अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको उनले बताए । ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ । त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल छ । बाढीका कारण सबैभन्दा बढी असर अम्बाथानसम्म पुग्ने सडक र ‘हेडवर्क’ मा पुगेको अनुमान गरिएको छ । अहिले सडक रहेकै स्थानमा पुनर्निर्माण गर्ने कि नयाँ रेखांकनमा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
आयोजनाले हालसम्म रु दुई अर्ब क्षति भएको अनुमान गरिएको छ । मर्मत र पुनर्निर्माण गर्दा त्यो रकम बढ्नसक्ने अनुमान गरिएको छ । हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने सूचना अधिकारी पन्तको भनाइ छ । निर्माणस्थलमा रहेका संरचना पुनर्निर्माणमा समय र लागत दुवै बढी लाग्ने देखिएको छ । साउन महिनाको बाढीले सडकमा थप क्षति पुगेपछि आयोजनास्थलमा रहेका संरचनामा भने पहिलो बाढीले गराएको क्षति जति हो त्योभन्दा बढी नभएको पाइएको छ ।
सूचना अधिकारी पन्तका अनुसार आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका मर्मतको योजना बनाइएको छ । दीर्घकालीन मर्मत सुरु गर्नु पहिले आयोजनास्थलभन्दा माथिल्लो भागमा पहिराको समाधान गरिनुपर्छ भन्ने छलफल भइरहेको छ । सम्बन्धित निकायले त्यसमा विस्तृत अध्ययन गर्नुपर्नेमा उनको जोड छ । अध्ययन सकिएर निष्कर्षका आधारमा अरु पूूर्वाधारको डिजाइन गर्ने, पुनरावलोकन गर्ने, स्थानान्तरण वा नयाँ बनाउने के गर्न सकिन्छ भनी निर्णय लिइने छ ।
गत असारसम्म चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवर्क’ मा निर्माण गरिरहेको थियो । ठेक्का सम्झौताका आधारमा कम्पनीले गर्ने दायित्व पूरा गर्नुपर्ने छ । अरु संरचनामा क्षति पुगे पनि मुख्य सुरुङमा क्षति नभएको अनुमान छ । अम्बाथान अडिट, डाइभर्सन टनेललगायतका संरचना टालिएको मात्र हो क्षति छैन भन्ने प्रारम्भिक अनुमान छ । क्षतिको मूल्यांकन गरेर अहिले निर्माणको काम गरिरहेको कम्पनीलाई नै काममा लगाइने सूचना अधिकारी पन्तले बताए ।
झण्डै दुई दशक पहिले निर्माण सुरु भएको आयोजना गत फागुनमा सम्पन्न भएर काठमाडौं उपत्यकामा पानी आउन थालेको थियो । आयोजनाको मुख्य संरचनाका रूपमा रहेको सुरुङको निर्माण सकिएपछि अस्थायी बाँधबाट पानी ल्याउन थालिएको थियो । आयोजनाको ‘हेडवर्क’ निर्माणको अन्तिम काम भइरहँदा आएको बाढीले धेरै क्षति पु¥याएको छ । राष्ट्रिय गौरवको सो आयोजना काठमाडौं उपत्यकामा रहको खानेपानीको समस्या समाधानको दीर्घकालीन उपायका रूपमा रहेको छ ।