
चितवन– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी चैत महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताएका छन् ।
भरतपुर अस्पतालमा आइतबार आयोजित स्वागत कार्यक्रममा उनले कोरोना विरुद्धको खोपको भण्डारण क्षमता २५ लाख मात्र भएकोले एकै चोटी खोप ल्याउन नसकेकै कारण किस्ता किस्तामा खोप लगाउने व्यवस्था गरिएको बताए ।
उनले असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र शत्प्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने व्यवस्था सरकारले मिलाएको बताए । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसंख्यालाई करिब पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको बताए ।
उनले सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेकाले केही दिनमा पीसीआर र एन्टिजेन परीक्षणलाई पूर्ण रूपमा निःशुल्क गर्ने योजना रहेको बताए । उनले हालको परिस्थितीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको कमी देखिएकोले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्न सुझाव दिए । उनले तत्काल चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्न निर्देशन पनि दिए । गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पतालहरूलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिए ।
भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्लीगल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गर्दै भने, ‘समस्या के हो जानकारी दिनुहोस् पाँच÷दश करोड बजेटको समस्या हुँदैन ।’
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब दुई गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएको जानकारी गराए ।
भरतपुर अस्पतालका शैक्षिक कार्यक्रम संयोजक प्राडा कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने सुझाव दिए । उनले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटाँैडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाइमा पु¥याउन अस्पतालबाट सेवाहरू अन्यत्र सार्ने नभई अन्यत्रबाट ल्याएर भए पनि थप गर्नुपर्ने बताए ।
भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफूहरू अस्पतालका लागि चाहिने सेवा तथा सामग्रीहरू माग्न मन्त्रालय जाँदा कहाँ र कसलाई भेट्ने हो भन्ने विषयमा अन्योल हुने गरेको गुनासो गरे । उनले चिकित्सक आवास र प्रसूति भवन बनाउन र अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि आग्रह गरे ।