
काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बेलाबेलामा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्किएको चर्चा चल्ने गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सर्वसाधारणले जमिन खन्दा प्राकृतिक ग्यास निस्किने समाचार बाहिरिने गरेको छ । मूलतः भारतले लगाएको नाकाबन्दीको समयमा ग्यासको अभावमा राजधानीबासीले ठूलो संकट व्यहोरेका थिए । त्यसबेलादेखि उपत्यकामा जमिनमुनि प्राकृतिक ग्यास रहेको चर्चा चल्ने गरेको छ । तर, हालसम्म यसबारेमा आवश्यक अनुसन्धानको काम अगाडि बढ्न सकेको छैन ।
बुधबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपन, पन्चकुमारीमा पानीका लागि बोरिङ खन्ने क्रममा प्राकृतिक ग्यास निस्किएको छ । बोरिङ खन्नेक्रममा एक्कासी बालुवासहित पानीको फोहोरा निस्कियो । पानी र बालुवासहितको फोहोरा करिब तीन घन्टासम्म निरन्तर निस्किएको थियो । उक्त फोहोरा करिब करिब ४० फिट अग्लोसम्म गएको स्थानीयबासीले बताएका छन् ।
भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयबासी चकित परेका थिए । लामो समयसम्म फोहोरा जारी रहेपछि स्थानीयबासीले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए । सूचनापश्चात् घटनास्थल निरीक्षणमा आएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको निक्र्यौल गरेका थिए ।
‘काठमाडौं उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो’, श्रेष्ठले भने । त्रसित स्थानीयवासीको प्रतिक्रियामा उनले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताएका थिए । कति समयसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा, भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आँकलन गर्न नसकिने बताएका थिए ।
बुधबार बिहान १० बजेदेखि लेदोसहितको फोहोरा निस्कन सुरु गरेको र यो क्रम दिउँसो १ः४० बजेतिर रोकिएको स्थानीयबासीले जानकारी दिएका छन् ।
घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमिन नै भाँसिने पो हो कि भने डर लागेको बताए । ‘सुरुमा लेदो निस्किए पनि पछि ग्यास गन्हायो र पानीसहित बालुवाको फोहोरा भएर भुल्किरह्यो’, उनले भने । करिब एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उनको भनाइ छ ।
फोहोराका कारण नजिकैको घरहरू हिलाम्मे भएको थिए । अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि प्रहरीले भीडभाड नगर्न माइकिङसमेत गर्नु परेको थियो । कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिइन् ।