- सात दिनभित्र कागजात पेस गर्न निर्देशन
काठमाडौं- राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेर रद्द गरिएको विषयले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमाथि गम्भीर प्रश्न उठाएको छ।
ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार, आर्थिक क्षति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भूमिकादेखि मधेसका किसानले गुमाएको सिँचाइ सुविधासम्मका विषय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उठेका छन्। आयोजनाको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको विषयमा परेको निवेदनमाथि मंगलबार प्रारम्भिक छलफल गरेको समितिले सम्बन्धित निकायसँग सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।
म सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन गर्दछु। कागजात प्राप्त भएपछि हामी थप अध्ययन गरेर यो विषयको निरूपण गर्नेछौं।
भरतबहादुर खड्का
सभापति, सार्वजनिक लेखा समिति
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशील आचार्यलगायतसँग छलफल गरेपछि समितिले थप अध्ययन गर्ने निर्णय गरेको हो। समिति सभापति भरतबहादुर खड्काले भने, ‘म सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन गर्दछु। कागजात प्राप्त भएपछि हामी थप अध्ययन गरेर यो विषयको निरूपण गर्नेछौं।’
करिब एक घण्टा चलेको छलफलमा सरकारको निर्णय प्रक्रियामाथि सांसदहरूले प्रश्नैप्रश्न उठाए। राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा देखिएको ढिलाइ, खरिद प्रक्रिया बीचमै रद्द गर्नुको औचित्य र त्यसबाट राज्यलाई पर्ने आर्थिक भारबारे सरकारले स्पष्ट जवाफ दिन सकेको छैन।
आयोजनाले गत २५ जेठमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। तीनवटा कम्पनी प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएपछि आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कात्तिक दोस्रो साता बोलपत्र प्रक्रिया रद्द गरियो।
प्राविधिक मूल्यांकन पूरा भइसकेको र आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको प्रक्रिया किन रद्द गर्नुपर्यो?
महेन्द्रबहादुर शाही
सांसद, नेकपा
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ (२) लाई आधार बनाएर प्रक्रिया रद्द गरिएको आयोजनाको भनाइ छ। तर प्रतिस्पर्धा अन्तिम चरणमा पुगिसकेको अवस्थामा एकाएक प्रक्रिया रद्द गर्नुको औचित्यमाथि सांसदहरूले प्रश्न गरेका छन्। नेकपाका सांसद महेन्द्रबहादुर शाहीले प्रश्न गरे, ‘प्राविधिक मूल्यांकन पूरा भइसकेको र आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको प्रक्रिया किन रद्द गर्नुपर्यो? खरिद कारबाही रद्द गर्दा आयोजनाको लागत र समयावधि तथा राज्यको सार्वजनिक कोषमा पर्ने क्षतिको दायित्व कसले बेहोर्छ?’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पनि सरकारको निर्णयमाथि प्रश्न उठाए। उनले आयोजनाको १३.३ किलोमिटर सुरुङमार्ग सन् २०२४ मै ‘ब्रेक थ्रु’ भइसकेको स्मरण गराउँदै त्यसपछि पनि निर्माण अघि बढ्न नसकेको विषय उठाए। उनको प्रश्न थियो, ‘टनेल पनि मे २०२४ मै ब्रेक थ्रु भइसक्यो। तर त्यसको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि काम अगाडि बढेको छैन। यो नबढ्नुको कारण के हो?’
वालेन्द्र सरकारले नयाँ सार्वजनिक खरिद नियमावलीको १६औं संशोधनअनुसार जटिल संरचनाको ठेक्कामा ‘रेटेड प्वाइन्ट क्राइटेरिया’ लागू गर्नुपर्ने भन्दै पुरानो प्रक्रिया रद्द गरेको स्पष्टीकरण दिएको छ। तर, बोलपत्र आह्वान र प्राविधिक मूल्यांकन भइसकेपछि संशोधित नियमावली लागू गर्नुको कानुनी आधार के हो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ समितिले पाउन सकेन।
रास्वपा सांसद झाले सरकारको निर्णयलाई परीक्षाको उदाहरण दिएर प्रश्न गरे, ‘मैले एक्जाम दिएर, प्रश्नपत्रको जवाफ लेखिसकेपछि, कोइसनको जवाफ दिइसकेपछि एन्सर पेपर बुझाइसकेपछि तपाईं प्रश्न बदल्न पाउनुहुन्छ? त्यो कसरी लागू हुन्छ?’ उनले सुरु भइसकेको खरिद प्रक्रियामा पछि संशोधन भएको कानुन लागू गर्नुको औचित्य खोजेका छन्।
नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले पनि विभागका महानिर्देशकको जवाफमा चित्त बुझाएनन्। उनले भने, ‘संशोधन लागू गर्ने समय, बोलपत्र प्रक्रियाको अवस्था र नियमावलीको व्यवस्थालाई कुन आधारमा उक्त प्रक्रियामा लागू गरिएको हो भन्ने विषयमा स्पष्टता हुन सकेन। यसकारण यहाँको जवाफबाट चित्त बुझाउन सकिने अवस्था रहेन।’
ठेक्का रद्द गर्दा राज्यलाई कति आर्थिक क्षति भयो भन्ने प्रश्नमा पनि सरकार स्पष्ट देखिएन। कांग्रेस सांसद जनकराज गिरीले सार्वजनिक वित्तीय अनुशासनमाथि नै प्रश्न उठाउँदै राष्ट्रिय गौरवका आयोजना नियम परिवर्तनको नाममा पटक-पटक रोक्ने प्रवृत्तिले राज्यलाई ठूलो आर्थिक भार पार्ने बताए।
उनले पुरानो ठेक्का तोडिएपछि नयाँ ठेक्का लगाउँदा निर्माण लागत कति बढ्छ, आयोजना कति समय पछाडि धकेलिन्छ र त्यसको आर्थिक दायित्व कसले लिन्छ भन्ने जवाफ मागे। तर मन्त्रालयका सहसचिव सुशील आचार्यले तत्काल आर्थिक क्षतिको यकिन गर्न नसकिने जवाफ दिए। उनले भने, ‘एउटा बिड क्यान्सिल भएर अब अर्कोे बिडमा जाँदाखेरि ठूलो आर्थिक नोक्सानी भएको भन्ने जुन कुरा छ, त्योचाहिँ अहिले निक्र्योल गर्न नसकिनेजस्तो लाग्छ मलाई।’
अर्थात्, राष्ट्रिय गौरवको आयोजना किन रोकियो र त्यसबाट राज्यले कति मूल्य चुकाउनुपर्छ भन्ने प्रश्नको जवाफ सरकारसँग तत्काल छैन। यस प्रकरणमा यसअघि पटेल-रमण जेभीसँग भएको ठेक्का तोडिएको विषय पनि जोडिएको छ। पुरानो ठेक्का तोडिएपछि बाँकी कामका लागि नयाँ बोलपत्र आह्वान गरिएको थियो। तर, नयाँ प्रक्रिया पनि रद्द भएपछि पुरानो ठेकेदारबाट क्षतिपूर्ति असुली, बैंक जमानत जफत र राज्यको आर्थिक दायित्वको विषय थप पेचिलो बनेको छ।
कांग्रेस सांसद गिरी र योगेश गौचन थकालीले यस विषयमा छानबिन गर्न समितिमा लिखित निवेदनसमेत दिएका छन्। उनीहरूले पुरानो ठेक्का तोडिएपछि राज्यले प्राप्त गर्नुपर्ने क्षतिपूर्ति र नयाँ ठेक्का रद्द गर्दा त्यसमा पर्ने प्रभावबारे अनुसन्धान गर्न माग गरेका छन्।
मैले एक्जाम दिएर, प्रश्नपत्रको जवाफ लेखिसकेपछि, कोइसनको जवाफ दिइसकेपछि एन्सर पेपर बुझाइसकेपछि तपाईं प्रश्न बदल्न पाउनुहुन्छ? त्यो कसरी लागू हुन्छ?
मनिष झा
सांसद, रास्वपा
ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भूमिकाले पनि थप शंका जन्माएको छ। विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरी नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालय पुर्याइएको र ठेक्का रद्द गर्न दबाब दिइएको भन्ने सार्वजनिक विवरणबारे सांसदहरूले जवाफ मागेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले महानिर्देशक रजौरियालाई प्रधानमन्त्री कार्यालयमा गएको विषयको सत्यतथ्य स्पष्ट पार्न आग्रह गरिन्। उनले भनिन्, ‘प्रधानमन्त्रीको कार्यालयको क्षेत्राधिकारभित्र गौरवका आयोजनाको प्रतिवेदन स्वाभाविकरूपमा पर्छ। उहाँले हस्तक्षेप पनि गर्न पाउनुहुन्छ। तर त्यसको कानुनी प्रक्रियाको विषयमामात्रै प्रश्न हो। यहाँहरूलाई त्यो (दबाब) भएको थियो कि थिएन? पुष्टि गरिदिनुहोस्।’
जवाफमा महानिर्देशक रजौरियाले प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरे। तर दबाब र हस्तक्षेप नभएको दाबी गरे। उनले भने, ‘प्रधानमन्त्री कार्यालय अवश्य म गएको हुँ। निर्देशक पनि जानुभएको हो। तर कुनै प्रकारको नियन्त्रण अथवा हस्तक्षेप मैले अनुभूति गरेको होइन।’
तर, प्रधानमन्त्री कार्यालयको भूमिका र ठेक्का रद्द गर्ने निर्णयबीचको सम्बन्धबारे उठेका प्रश्न भने अझै निरूपण हुन सकेका छैनन्। मन्त्रालयका सहसचिव आचार्यले पनि यस विषयमा स्पष्ट जवाफ दिएनन्। सरकारको निर्णयको सबैभन्दा ठूलो असर आयोजनाबाट लाभान्वित हुने मधेसका किसानमा पर्ने देखिन्छ।
सुनकोशीको पानी मरिन नदी हुँदै मधेसका पाँच जिल्लाका करिब एक लाख ८० हजार बिघा जमिनमा पुर्याउने लक्ष्यसहित आयोजना अघि बढाइएको हो। यसबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत छ। तर ठेक्का रद्द र निर्माणमा भइरहेको ढिलाइले किसानले सिँचाइको सुविधा पाउने समय अनिश्चित बनेको छ।