काठमाडौं- दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन्। औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि केही खेल भने आजदेखि नै सुरु हुन लागेका हुन्।
आजदेखि पाँच खेलमा प्रतिस्पर्धा सुरू हुनेछ। जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको तालिकाअनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमै केन्द्रित हुनेछन्। प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ। विभिन्न प्रतियोगितामा सहभागी खेलाडी सुर्खेत पुगिसकेका छन्।
बाँकी नौ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने छ। दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने छन्। प्रतियोगिताका ३८४ इभेन्ट्समा कूल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ। यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मङ्सिर २७ गते समापन हुनेछ।