काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको क्रममा नेपालको सबैभन्दा पेचिलो राष्ट्रिय मुद्दा सीमा विवाद समाधानले प्राथमिकता पाउन सकेन। लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमा देखिएको सीमा समस्याबारे ठोस छलफल र कूटनीतिक पहल हुने अपेक्षा गरिए पनि भ्रमण त्यसमा उपलब्धिविहीन देखिएको छ।
नेपालले लामो समयदेखि उठाउँदै आएको सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन र प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन बुझ्ने विषयमा प्रधानमन्त्री शाहको भारत भ्रमणबाट कुनै ठोस उपलब्धि हासिल हुन सकेन।
प्रधानमन्त्रीको भ्रमणपछि सार्वजनिक संयुक्त दस्ताबेजमा सीमा विवाद संवादमार्फत समाधान गर्ने र सन् १९५० को सन्धि आपसी सहमतिमा पुनरवलोकन गर्न सकिने पुरानै भाषा दोहोर्याइएको छ। तर, सीमा विवाद समाधानका लागि कुनै समयसीमा, कार्ययोजना वा ठोस सहमति उल्लेख छैन।

प्रधानमन्त्री शाहको मुख्य प्राथमिकता सीमा विवाद समाधान हुनुपथ्र्यो तर त्यस्तो भएन। दुईतिहाइ नजिकको शक्तिशाली सरकारका प्रधानमन्त्रीले सीमा समस्याबारे मोदीसँग कूटनीतिक मञ्चमा संवाद नगर्नु गलत भयो।
बुद्धिनारायण श्रेष्ठ
सीमाविद्
सीमाविद् बुद्धिनारायण श्रेष्ठ प्रधानमन्त्री शाहले आफ्नो भ्रमणमा सीमा समस्यालाई मुख्य प्राथमिकता दिनुपर्ने भए पनि त्यसो हुन नसकेको बताउँछन्। उनका अनुसार दुईतिहाइ नजिकको शक्तिशाली सरकारको नेतृत्व गरेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कूटनीतिक मञ्चमै सीमा विवादबारे स्पष्ट संवाद गर्नुपर्ने थियो।
‘प्रधानमन्त्री शाहको मुख्य प्राथमिकता सीमा विवाद समाधान हुनुपथ्र्यो तर त्यस्तो भएन,’ उनले प्रभावसँग भने, ‘दुईतिहाइ नजिकको शक्तिशाली सरकारका प्रधानमन्त्री शाहले सीमा समस्याबारे मोदीसँग कूटनीतिक मञ्चमा संवाद नगर्नु गलत भयो।’
उनका अनुसार नेपालले वर्षौंदेखि सीमा समस्या झेलिरहेको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको विषयमा भारतले गम्भीरता देखाएको छैन। यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउनुपर्ने थियो।
‘नेपालले वर्षौंदेखि सीमा समस्या झेल्नुपरेको छ। कयौं ठाउँमा नेपाली भूमि मिचिएको छ, तर यसमा भारत गम्भीर भएन,’ उनले भने, ‘विगतमा ग्रेटर नेपालको नक्सा राख्ने र अतिराष्ट्रवादी अभिव्यक्ति दिने प्रधानमन्त्रीको भ्रमणमा यस्तो विषय नउठ्नु राम्रो होइन।’
प्रधानमन्त्री शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए। लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा पनि उनले विगतमा कडा अभिव्यक्ति दिएका थिए। त्यसैले प्रधानमन्त्री बनेपछि उनको पहिलो भारत भ्रमणमा सीमा विवादले विशेष प्राथमिकता पाउने अपेक्षा गरिएको थियो।
सीमा अतिक्रमणबारे यसअघि परराष्ट्रसचिवस्तरमा कहिले छलफल भयो र ? हामीले उच्च तहमा छलफल गर्ने भनेका छौं। सीमाबारे हाम्रा दाबीहरू छन्। शान्तिपूर्ण ढंगले समाधान गर्न चाहन्छौं।
शिशिर खनाल
परराष्ट्रमन्त्री
तर, भ्रमणको संयुक्त दस्ताबेजमा सीमाबारे सामान्य प्रतिबद्धतामात्रै समेटियो। भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने विषयमा भएको सहमतिप्रति नेपालको असहमति पनि संयुक्त दस्ताबेजमा समेटिएन। इपिजीको प्रतिवेदन बुझ्ने विषयमासमेत दुवै पक्ष मौन रहे।
प्रबुद्ध व्यक्ति समूह नेपालका सदस्य डा. राजन भट्टराई पनि भ्रमणको क्रममा नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा अपेक्षित प्रगति हुन नसकेको बताउँछन्। उनका अनुसार सीमा विवाद र सन् १९५० को सन्धि लामो समयदेखि नेपालले उठाउँदै आएका विषय हुन्। तर, संयुक्त वक्तव्यमा सामान्य भाषा राखेर मात्रै समस्या समाधान हुँदैन।
‘नेपाली पक्षले केही न केही भाषा राखेरै जान्छ भन्ने भारतीय पक्षलाई सधैं थाहा हुन्छ,’ भट्टराई भन्छन्, ‘त्यसैले उनीहरू १९५० को सन्धि होस्, पञ्चेश्वर होस् वा सीमाको विषय, यस्ता मुद्दामा सामान्य भाषा लेखिदिन्छन् र भोलि वार्ताको टेबलमा बस्दा पुरानै अडान दोहोर्याएर सहमतिमा नपुग्ने लामो इतिहास छ।’
उनका अनुसार यसपटक पनि त्यही प्रवृत्ति दोहोरिएको छ। सन् १९५० को सन्धिबारे सानो तहमा छलफल गर्ने पुरानै भाषा दोहोरिएको छ। त्यसमा कुनै ठोस प्रगति देखिएको छैन।
प्रधानमन्त्री शाह भारत भ्रमणपछि फर्किएसँगै सोमबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पनि सीमा विवादबारे प्रधानमन्त्रीको स्पष्ट धारणा सार्वजनिक भएन। पत्रकारले प्रधानमन्त्रीले मेयर हुँदा कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साबारे भारत भ्रमणमा छलफल भए/नभएको प्रश्न गरेका थिए।
सीमा विवाद वर्षौंदेखि यथावत् छ, त्यसमा केही प्रगति भएन। सन् १९५० को सन्धिका कुरा लामो समयदेखि उठ्दै आए पनि त्यसमा पनि निकास निस्किएन।
निलाम्बर आचार्य
भारतका लागि पूर्वनेपाली राजदूत
जवाफमा परराष्ट्रमन्त्री शिशिर खनालले सीमा अतिक्रमणको विषयमा संवाद गर्न दुई देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको बताए। पत्रकारले प्रधानमन्त्रीले भारतसँग सीमा अतिक्रमण भएको विषय किन स्पष्ट रूपमा राख्न नसकेको भन्दै पूरक प्रश्न गरे।
त्यसको जवाफमा खनालले भने, ‘सीमा अतिक्रमणबारे यसअघि परराष्ट्र सचिवस्तरमा कहिले छलफल भयो र ? हामीले उच्च तहमा छलफल गर्ने भनेका छौं। सीमाबारे हाम्रा दाबीहरू छन्। शान्तिपूर्ण ढंगले समाधान गर्न चाहन्छौं।’
तर, पत्रकार सम्मेलनमा मन्त्रीको जवाफले पनि सीमा विवादमा प्रधानमन्त्रीको भ्रमणबाट के उपलब्धि भयो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर दिन सकेन।
पूर्वराजदूत नीलाम्बर आचार्य पनि भ्रमणका क्रममा सीमा विवाद, इपिजी प्रतिवेदन र व्यापार घाटाजस्ता महत्वपूर्ण विषयमा प्रगति हुन नसकेको बताउँछन्। ‘सीमा विवाद वर्षौंदेखि यथावत् छ, त्यसमा केही प्रगति भएन। सन् १९५० को सन्धिका कुरा लामो समयदेखि उठ्दै आए पनि त्यसमा पनि निकास निस्किएन,’ आचार्यले भने।
नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले क्षेत्रीय संगठनको गतिरोध अन्त्यका लागि पनि प्रधानमन्त्रीले पहल गर्नुपर्ने उनको भनाइ छ। यसरी प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणमा विकास, पूर्वाधार र आर्थिक सहकार्यका विषयले प्राथमिकता पाए पनि नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वार्थसँग जोडिएको सीमा विवादमा भने अपेक्षित राजनीतिक तथा कूटनीतिक पहल हुन सकेन।