काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको बताइएको छ।
हाल विराटनगर-३, दूधफारमस्थित ढकालको निवासमा विवाहका लागि कार्ड छपाइदेखि अन्य तयारी तीव्र पारिएको छ। ढकालले आजै विवाहअघि गरिने ग्रह पूजा पनि गरेका छन्। विवाहको मिति तय भएको र तयारी सुरु भइसकेको विषयमा परिवार निकट स्रोत तथा आफन्तले पुष्टि गरेका छन्।
विवाह समारोह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरमा आयोजना हुने बताइएको छ। मुकुल ढकाल र निशा डाँगीबीचको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बन्दै आएको थियो। रास्वपा स्थापना हुनुअघिदेखि नै उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा हुँदै आएको छ।
डाँगी रास्वपाकी सहमहामन्त्री हुन्। उनी २०७९ सालको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। त्यसैगरी, गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्।