काठमाडौं- पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
यद्यपि, उनले कुन राजनीतिक दलबाट वा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भन्नेबारे भने खुलाएकी छैनन्।आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने श्रेष्ठले बताएकी छन्।
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री हुन्। उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेपछि पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि उनी पार्टीको सक्रिय राजनीतिबाट समेत निष्क्रिय भएकी थिइन्।