बुटवल- दीपावलीको अवसरमा बुटवलमा तीनदिने ‘दीपावली सडक खाना महोत्सव’ आयोजना हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी कात्तिक २० देखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका-८, सुख्खानगरस्थित शुक्रपथमा महोत्सव सञ्चालन हुन लागेको हो।
बुटवल उद्योग वाणिज्य संघका महासचिव बसन्तप्रसाद ढकालका अनुसार स्थानीय वडाको प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक शुक्र टोल विकास समितिको सक्रियतामा महोत्सव आयोजना गर्न लागिएको हो।दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी करिब ५० वटा स्टल रहनेछन्। महोत्सवमा विभिन्न जातजातिका मौलिक तथा परम्परागत खानाका परिकारसँगै फूलमाला, टीका, मरमसला, खाद्यान्नलगायत तिहारमा आवश्यक सामग्री बिक्रीका लागि राखिने आयोजकले जनाएको छ।
महोत्सवमा देउसीभैलो प्रतियोगिता, लोकल ब्यान्ड तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहनेछ। दीपावलीको सांस्कृतिक तथा धार्मिक महत्त्व संरक्षण गर्दै स्थानीय कला, संस्कृति, परम्परा र उत्पादनको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको संघले जनाएको छ।
महोत्सवले स्थानीय उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्नुका साथै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि विभिन्न समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीसमेत बाँडफाँट गरेको छ।
शुक्रपथमा पहिलोपटक आयोजना हुन लागेको दीपावली सडक खाना महोत्सवप्रति स्थानीयवासीले समेत सकारात्मक चासो देखाएका छन्।