ललितपुर- निरन्तर वर्षाका कारण दर्शकलाई अवलोकनमा असुविधा भएपछि ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ।
आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेशभक्त श्रेष्ठले दिएको जानकारीअनुसार कात्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तय गरेको प्रदर्शनी अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने भएको वर्षाका कारण दर्शकलाई प्रदर्शनी अवलोकन गर्न असुविधा भएको भन्दै थप दुई दिन प्रदर्शनी सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए।
‘रोपौँ फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजित प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा पुष्प सजावटका सामग्री राखिएका छन्। फ्यानका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङले दिएको जानकारीअनुसार आइतबार साँझसम्म मेलामा २३ हजारभन्दा बढिले अवलोकन गरेको र ७५ लाखभन्दा बढीको कारोबार भएको जानकारी गराए।
सदर चिडियाखाना अगाडि जावलाखेल खेलमैदानमा बिहान ९ बजेदेखि साँझ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीको सहआयोजकमा बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय रहेको छ।
पुष्प विकास केन्द्र तथा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग र राष्ट्रिय फलफूल बाली विकास केन्द्र पनि सहआयोजक छन्। प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धन, फूलको व्यावसायिक उत्पादन तथा आन्तरिक बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको फ्यानका महासचिव हिरामणि शर्माले बताए।